काठमाडौं । दृष्टिविहीन प्रयोगकर्तालाई लक्षित गरी बनाइएको फ्लिक टाइप वाच किबोर्ड अब आईफोनमा नचल्ने भएको छ ।

 

दृष्टिविहीन प्रयोगकर्ताले फ्लिक टाइप किबोर्डमार्फत सजिलोसँग बोलेर नै लेख्न सक्छन् । जुन आईफोनमा डिफल्ट भएर आउने किबोर्डमा भन्दा चाँडो टाइप गर्न सकिने भएकाले दृष्टिविहीनले पनि अरु सामान्य प्रयोगकर्तासरह नै लेख्न सक्छन् ।

फ्लिक टाइप किबोर्डले आईफोन र एप्पल वाच दुवैमा काम गर्थ्यो, जसमा लार्ज-की, हाइ-कन्ट्रास्ट कलर, स्पस्ट वर्ड, प्रभावकारी भ्वाइस-ओभर फिडब्याक सहितको डिजाइन रहेको थियो । तर, अब उक्त फिचर आईफोनमा उपलब्ध नहुने भएको छ ।

 

फ्लिक टाइप वाच किबोर्डले ट्वीट गर्दै अब दृष्टिविहीन आईफोन प्रयोगकर्तामाझ सेवा उपलब्ध नहुने जनाएको छ । उपभोक्ताको सहजतालाई ध्यानमा राखी उपलब्ध गराउँदै आएको सेवाप्रति एप्पलले लामो समयदेखि समस्यामात्रै खडा गरेको र एप्पलको यस्तो ज्यादती र दुर्व्यवहार अब सहन नसकिने भन्दै फ्लिक टाइप किबोर्डले आपत्ति जनाएको छ । 

 

उनीहरूले भ्वाइस-ओभर प्रयोगकर्ताका लागि आईओएससम्बन्धी समस्या सुधारका लागि गत हप्ता अपडेट पेश गर्दा एप्पलले त्यसको कुनै प्रतिक्रिया नगरेको बताएका छन् ।

 

साथै अपडेटमा आएको नँया फिचरसमेत एप्पलले अस्वीकार गरेको जनाइएको छ । किबोर्डमा भएको विस्तारित फिचर ‘फुल एक्सेस’ बिना नचलेको भन्दै एप्पलले बहस गरेको र असजहतामात्रै सिर्जना गरेको उनीहरूले दाबी गरेका छन् ।

एप्पलले आफ्नो गैरजिम्मेवारी देखाएपनि आफूहरू भने प्रयोगकर्ताको आवश्यकता र सहजताप्रति चिन्तित रहेको फ्लिक टाइप वाच किबोर्डले जनाएको छ ।