काठमाडौं । प्रदेश नम्बर १ मा टेलिफोन प्रयोगकर्ताको संख्या साढे ४५ लाखभन्दा बढी पुगेको छ । नेपाल राष्ट्र बैंकले गत असार मसान्तसम्मको तथ्याङ्कलाई समावेश गर्दै हालै प्रदेश १ को आर्थिक गतिविधि अध्ययनको वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ ।

 

नेपाल टेलिकम र एनसेलले उपलब्ध गराएको तथ्याङ्कका आधारमा तयार पारिएको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७/०७८ अनुसार सो प्रदेशमा कुल ४५ लाख ५५ हजार टेलिफोन वितरण भएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १.५ प्रतिशतले वृद्धि हो ।

तर, सञ्चार क्षेत्र समग्र वृद्धिदरलाई हेर्ने हो भने अघिल्लो आवको तुलनामा भने वितरित टेलिफोनको संख्यामा केही कम आएको देखिन्छ । किनभने अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल टेलिफोनको संख्या १.९ प्रतिशतले बढेको थियो । 

 

प्रतिवेदन अनुसार प्रदेश १ अन्तर्गत सबैभन्दा बढी टेलिफोन प्रयोगकर्ता भएको जिल्ला मोरङ रहेको छ । भने, दोस्रोमा झापा छ ।

 

यी जिल्लाले कुल प्रयोगकर्ताको क्रमशः २२ र २१ प्रतिशत हिस्सा ओगटेका छन् । त्यस्तै सुनसरी जिल्लाले २० प्रतिशत हिस्सा ओगटेको छ । भने, त्यसबाहेकका अन्य जिल्ला उदयपुर, इलामले ६–६ प्रतिशत हिस्सा ओगटेको छ ।

 

त्यस्तै धनकुटा, खोटाङ, सङ्खुवासभाले ४–४ प्रतिशत हिस्सा ओगटेका छन् । ताप्लेजुङ, सोलुखुम्बु, भोजपुर, ओखलढुंगा, तेह्रथुममा २ प्रतिशत टेलिफोन प्रयोग भएको उल्लेख गरिएको छ ।

त्यसैगरी इन्टरनेट सेवा प्रयोगकर्ताको संख्या १४.६ प्रतिशतले वृद्धि भई ५१ हजार पुगेको प्रतिवेदनमा उल्लेख गरिएको छ । जुन अघिल्लो आवको तुलनमा भने उल्लेख्य वृद्धि हो ।

प्रतिवेदन अनुसार अघिल्लो आवको सोही अवधिमा इन्टरनेट सेवा प्रयोगकर्ताको संख्या २१.४ प्रतिशतले वृद्धि भएको थियो । यसमा मोबाइल तथा टेलिकमले उपलब्ध गराएको इन्टरनेट सेवा मात्रै समावेश गरिएको जनाइएको छ । 

https://www.techpana.com/2021/107946/