काठमाडौं । सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणालीमा पुनः समस्या देखिएको छ । अनलाइन प्रणालीमा अधिक चाप भएपछि यातायात व्यवस्था विभागले अब दिउँसोको समयमा आवेदन प्रक्रिया रोक्ने भएको छ ।

 

यातायात व्यवस्था कार्यालयहरुबाट हुने दैनिक सवारी चालक अनुमतिपत्र सम्बन्धी कार्यमा समेत असर परेको भन्दै विभागले विहान १० देखि अपरान्ह ५ बजेसम्म अनलाइन प्रणाली बन्द गर्ने जानकारी दिएको छ ।

‘यसबाट सेवाग्राहीलाई हुने असुविधाप्रति हामी क्षमाप्रार्थी छौं । प्रणालीको लोड (चाप) व्यवस्थापन कार्य सम्पन्न भएपछि अनलाइन आवेदन प्रणाली सञ्चालन हुने व्यहोरा समेत यसै सूचनाबाट जानकारी गराइन्छ,’ विभागको सूचनामा भनिएको छ ।

 

विभागले यसअघि कात्तिक ८ गतेदेखि आवेदन पुनः खुलाएको थियो । तर अनलाइन आवेदनमा अत्याधिक चाप बढेपछि पटक पटक विभागको सिस्टममा समस्या देखिँदै आएको छ ।

 

कात्तिकभन्दा पहिले झण्डै दुई लाख आवेदन दिएकाको परीक्षा लिन बाँकी रहेकामा अहिले त्यो संख्या झण्डै छ लाखको हाराहारीमा पुगेको विभागका प्रवक्ता लोकनाथ भुसालले बताएका छन् ।