काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर र अर्थसचिव मधुकुमार मरासिनीले नेपालमै बनेको विद्युतीय मोटरबाइक यात्रीको टेस्ट राइड गरेका छन् ।

 

गत वैशाखमा सार्वजनिक भएको यो मोटरबाइकको प्रवर्द्धन गर्ने उद्धेश्यले अर्थमन्त्री र सचिवले टेस्ट राइड गरेका हुन् ।

मंगलबार टेस्ट राइड गरेका केही फाेटाेका साथ ट्वीट गर्दै अर्थसचिव मरासिनीले आफूहरुले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने बताए ।

 

यात्री मोटरसाइकल नामक नेपाली स्टार्टअप कम्पनीले साढे ३ वर्ष लगाएर सात महिनाअघि दुई मोडेलमा विद्युतीय माेटरबाइक बजारमा ल्याएको थियाे ।

 

यात्री पी जेरो मोडेलको मोटरबाइक एक पटकको चार्जमा २३० किलोमिटर गुड्नसक्ने कम्पनीले जनाएको छ । सुरुवाती २.५ सेकेन्डमै ६० किलोमिटर प्रति घण्टाको गति पकड्न सक्ने यो बाइक अधिकतम १४० किलोमिटर प्रतिघण्टा गुड्न सक्ने दाबी गरिएको छ ।

 

यसको तौल १९५ केजी रहेको छ । त्यस्तै यात्री पी वान मोटरसाइकल एक पटक चार्ज गर्दा १२० किलोमिटरसम्म गुड्न सक्छ ।

लिथियम आयन ब्याट्री राखिएका यात्रीका मोटरसाइकलमा हाई चार्ज र हाई डिस्चार गर्न सकिने र्‍यापिड चार्ज प्रविधि प्रयोग गरिएको छ । जसबाट २ घण्टामै मोटरसाइकल फुल चार्ज हुन्छ ।

यसका साथै बाइकमा अनबोर्ड चार्जरको सुविधा समेत रहेको छ । यसको अर्थ छुट्टै चार्जर बोक्नुपर्ने झन्झट समेत हुँदैन ।