काठमाडौं । एक दिनमा तपाईंले कतिपटक गुगल सर्च गर्नुहुन्छ ? कहिलेकाहिँ आफूले खोजेको कुराभन्दा धेरै जानकारी आएर तपाईं दिक्क हुनुहुन्छ होला, अथवा चाहेको कुरा खोज्दा नभेटिएको पनि हुनसक्छ ।

 

कहिलेकाहिँ त धेरै बेरसम्म खोजेर बस्ने समय पनि हुँदैन । जानकारीहरूको यो ठूलो सागरबाट आफूलाई चाहिएको जानकारी मात्र पाउन के गर्ने त ?

 

गुगलमा आफूले चाहेका जानकारी खोज्न उपयाेगी केही ट्रिक्सबारे आज हामी चर्चा गर्दैछौं ।

 

१. मितिको आधारमा सर्च गर्नुहाेस्

 

यदि तपाईं कुनै विषयमा अनुसन्धान गर्दै हुनुहुन्छ र तपाईंलाई विगत पाँच वर्षको समयको मात्र जानकारी आवश्यक छ भने तपाईंले सो समयको मितिको आधारमा आफ्नो सर्च रिजल्ट फिल्टर गर्न सक्नुहुन्छ ।

 

मितिमा आधारित जानकारी खोज्दा तपाईंलाई आवश्यक भएको समयको मात्र जानकारी उपलब्ध हुन्छ । यसका लगि गुगलको सर्च बक्समा गएर आफूलाई चाहिएको जानकारीको बारेमा टाइप गर्नुहोस र त्यसपछि स्क्रिनको माथि पट्टि दाहिनेतिर भएको ‘tools’ अप्सनमा क्लिक गर्नुहोस् ।

यसपछि सर्च बक्सभन्दा थोरै तल ‘any time’ भन्ने अप्सन देखिन्छ त्यसमा क्लिक गर्नुहोस् ।  यसमा तपाईंले बितेको एक घण्टा, २४ घण्टा, एक हप्ता, महिना र वर्षको आधारमा समय तय गरी सोही समयको मात्र जानकारी पाउन सक्नुहुन्छ ।

२. आवश्यक नभएको किवर्ड हटाउनुहोस् 

 

कहिलेकाहिँ आफूले खोजेको जानकारीभन्दा अन्य अनावश्यक जानकारी आएर तपाईंलाई पनि दिक्क लागेको हुनसक्छ । तपाईंले सर्च बक्समा टाइप गर्नुभएको शब्दहरूको आधारमा गुगलले उपलब्ध सबै जानकारी दिन सक्छ ।

यस्तोमा तपाईंले अनावश्यक किवर्ड हटाउन सक्नुहुन्छ । आफूलाई आवश्यक शब्दको अगाडि (+) राख्नुभयो भने गुगलले तपाईंको सर्च रिजल्ट थप स्पेसिफिक बन्न सक्छ ।

तपाईंलाई आवश्यक नभएको शब्दको अगाडि (-) राख्नुभयो भने सो शब्दसँग सम्बन्धित जानकारी सर्च रिजल्टमा देखिँदैन ।

जस्तै तपाईं महावीर पुन सर्च गर्न चाहनुहुन्छ जुन आविष्कार केन्द्र वा विज्ञान प्रविधिसँग सम्बन्धित छैन भने माइनस (-) ले ती दुवै शब्द घटाउन सक्नुहुन्छ । उदाहरणका लागि “महावीर पुन”-आविष्कार केन्द्र -विज्ञान प्रविधि

 

३. फाइल सर्च गर्नुहोस्

आफूलाई आवश्यक जानकारी मात्र सर्च गर्ने अर्को उपाय हो ‘फाइल टाइप छुट्टाउने । अर्थात तपाईंलाई सफ्टवयेर इन्जिनियरिङको बारेमा पीडीएफ फाइल मात्र चाहिएको छ भने filetype:pdf software engineering टाइप गर्दा सफ्टवेयर इन्जिनियरिङसँग सम्बन्धित पीडीएफ फाइलहरू मात्र उपलब्ध हुन्छ ।

त्यसैगरी वर्ड फाइल वा पावरपोइन्ट फाइलका लागि पनि त्यसैगरी फाइल टाइप राख्न सक्नुहुन्छ । 

४. एडभान्स सर्च गर्नुहोस्

गुगलमा गरिने सामान्य सर्च गर्ने तरिका त सबैलाई थाहा नै छ । तर धेरैजसो अनुसन्धानकर्ताहरुले आफ्नो रिजल्ट फिल्टर गर्नका लागि एड्भान्स सर्च प्रयोग गर्ने गर्छन् ।

कुनै एउटा विशेष शब्द, वाक्य, अंक, भाषा अथवा क्षेत्रको आधारमा तपाईंले आफ्नो सर्च रिजल्ट फिल्टर गर्न सक्नुहुन्छ । यसको लागि सर्च बक्समा जानुभएपछि स्क्रिनको दाहिनेतिर रहेको सेटिङमा क्लिक गर्नुहोस् र एड्भान्स सर्च अप्सनमा क्लिक गर्नुहोस् ।

त्यहाँ तपाईंले सर्चका लागि विभिन्न अप्सनहरू देख्नुहुनेछ । सो अप्सनलाई आधारित मानेर रिजल्ट सर्च गर्न सक्नुहुन्छ । 

५. शर्टकट प्रयोग गर्नुहोस् 

यदि तपाईं कुनै पनि फिल्टर प्रयोग गर्न चाहनुहुन्न वा एड्भान्स सर्च पनि प्रयोग गर्न चाहनुहुन्न भने गुगल सर्चका शर्टकट प्रयोग गर्न सक्नुहुन्छ । उदाहरणका लागि उद्दरण चिन्ह (“”) प्रयोग गर्न सक्नुहुन्छ ।

आफूलाई खोज्न चाहेको शब्दलाई चिन्ह भित्र राख्नुहोस् (“Software engineering”) र सर्च गर्नुहोस् । त्यसैगरी कुनै संस्था वा व्यक्तिको सोसल मिडिया अकाउन्ट खोज्नुपर्‍यो भने नामको अगाडि (@) अथवा (#) चिन्ह राख्नुहोस् ।

कुनै शब्द खोज्नुपर्‍यो, तर कुनै शब्द याद भएन भने त्यो शब्दको ठाउँमा (*) चिन्ह राख्न सक्नुहुन्छ । 

६. गुगल भोइस प्रयोग गर्नुहोस् 

तपाईंलाई कुनै जानकारी चाहियो र तपाईंसँग टाइप गरिरहने समय छैन भने भोइस पनि प्रयोग गर्न सक्नुहुन्छ । यसको लागि सर्च बक्सको साइडमा भएको माइक चिन्हमा क्लिक गर्नुहोस् आफूले खोज्न चाहेको कुरा बोलेर पनि जानकारी खोज्न सकिन्छ ।

जस्तै तपाईंलाई आजको मौसमबारे जान्न चाहनुहुन्छ भने सर्च बक्सको साइडमा भएको माइक चिन्हमा क्लिक गर्नुहोस् र ‘weather’ भनेर भन्नुहोस् । तपाईंलाई आवश्यक जानकारी आउनेछ ।               

७. टाइमर प्रयोग गर्नुहोस् 

दैनिक जीवनमा टाइमर अथवा समय गिन्ती गर्ने फिचरको एकदमै आवश्यकता हुन्छ । तपाईंले गुगल सर्च बक्समा गएर ‘Timer’ टाइप गर्नुहोस् ।

यसपछि टाइमर स्क्रिनमा देखिन्छ यसपछि आफ्नो आवश्यकता अनुसार टाइम सेट गर्न सक्नुहुन्छ । तपाईंको समय सकिएपछि गुगलले तपाईंलाई सम्झाउनेछ । 

८. एकैपटक दुईवटा कुरा सर्च गर्नुहोस्

कहिलेकाहिँ एउटा कुरा खोज्दा खोज्दै अर्को कुरा पनि खोज्नुपर्ने भयो भने अर्को ट्याब खोल्नुपर्ने हुन्छ । तर एउटै ट्याबमा दुईवटा कुरा सर्च गर्न चाहनुहुन्छ भने दुईवटा कुराहरूको बीचमा ‘and’ अथवा ‘or’ प्रयोग गर्न सक्नुहुन्छ ।

जस्तो यदि तपाईं महावीर पुन र आविष्कार केन्द्रको बारेमा एकैपटक जान्न चाहनुहुन्छ भने महावीर पुन and आविष्कार केन्द्र वा महावीर पुन or आविष्कार केन्द्र टाइप गरेर सर्च गर्नुहाेस् ।

थप ट्रिक्स

१. * 

यदि तपाईं दुईवटा शब्द निश्चित अर्डरमा राखिएको पेज खोज्दै हुनुहुन्छ भने दुई शब्दको बीचमा * अर्थात एस्ट्रिक चिन्ह राख्नुहोस् । उदाहरणका लागि “महावीर पुन” *ट्वीटर

२. ()

सर्च गर्ने क्रममा दुईवटा शब्द देखाउनुपर्ने छ भने () अर्थात ब्राकेटलाई प्रयोग गर्नुहोस् । उदाहरणका लागि (इन्टरनेट or आविष्कार केन्द्र) एण्ड “महावीर पुन”

३. AROUND (X)

तपाईं एक वा सो भन्दा बढी शब्दहरु खोज्दै हुनुहुन्छ, जुन एकअर्कासँग नजिक होस् भन्ने चाहनुहुन्छ भने AROUND (X) प्रयोग गर्नुहोस् । जस्तै आविष्कार केन्द्र र महावीर पुनबीच तीनभन्दा धेरै शब्द चाहनुहुन्न भने यसलाई प्रयोग गर्नुहोस् ।

उदाहरणका लागि  “महावीर पुन”AROUND (3) आविष्कार केन्द्र

४. $

यदि तपाईं कुनै नम्बर खोज्दै हुनुहुन्छ तर त्यसलाई मूल्यमा देखाउन चाहनुहुन्छ भने $ अर्थात अमेरिकी डलरको संकेत प्रयोग गर्नुहोस् । यसले युरोको साइनको रुपमा पनि काम गर्न सक्छ । उदाहरणका लागि $ Hundred वा € Hundred

५. SITE

जब तपाईं निश्चित डोमेनमा आफ्नो रिजल्टलाई सीमित गर्न चाहनुहुन्छ भने SITE को प्रयोग गर्न सक्नुहुन्छ ।

जस्तै techpana.com को पेजमा आविष्कार केन्द्र सम्बन्धी सबै कुरा हेर्न चाहनुहुन्छ भने SITE उल्लेख गर्न सक्नुहुन्छ । उदाहरणका लागि SITE:techpana.com आविष्कार केन्द्र

६. Intitle

महावीर पुनलाई कुनै पनि वेब पेजको टाइटलमा खोज्दै हुनुहुन्छ भने अगाडिपट्टी ईन टाइटल लेख्नुहोस् । उदाहरणका लागि Intitle: “महावीर पुन”

७. Allintitle 

यदि तपाईं धेरै शब्दहरु राखेर ईनटाइटल जस्तै गरी सर्च गर्न चाहनुहुन्छ, तर Allintitle लेख्न सक्नुहुन्छ ।

उदाहरणका लागि Allintitle: “महावीर पुन” आविष्कार केन्द्र

८. Inurl 

यूआरएलमै तपाईं अन्य टेक्स्ट पनि खोजिरहनुभएको छ भने यो विधि तपाईंलाई काम लाग्नेछ ।

उदाहरणका लागि Inurl: आविष्कार केन्द्र

९. Allinurl

Inurl जस्तै प्रयोजनका लागि यसको प्रयोग गर्न सक्नुहुन्छ । तर यो चाहिँ धेरै शब्द रहेको यूआरएल खोज्ने सन्दर्भमा काम लाग्छ । उदाहरणका लागि Allinurl: Tesla Model x

१०. Intext

वेब पेजको कन्टेन्टमा आफ्नो सर्चलाई सीमित गर्न चाहनुहुन्छ भने यो तरिका प्रयोग गर्न सक्नुहुन्छ । उदारहणका लागि Intext: इन्टरनेट

११. Allintext

यो पनि Intext जस्तै हो तर यो चाहिँ धेरै शब्दहरु जोडेर सर्च गर्नुपरेको अवस्थामा काम लाग्छ । उदाहरणका लागि Allintext Text: आविष्कार केन्द्र पीपीई

https://www.techpana.com/2021/111049/