काठमाडौं । पछिल्लो समय नेपालमा डिजिटल वालेट तथा इन्टरनेट बैंकिङ जस्ता डिजिटल भुक्तानीको प्रयोग बढ्दै गएको छ । यसमा डिजिटल वालेटदेखि, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेबिट तथा क्रेडिट कार्ड, कनेक्ट आईपीएस र प्रिपेड कार्ड जस्ता माध्यम रहेका छन् । 

 

तर के तपाईंलाई थाहा छ नेपालमा डिजिटल भुक्तानी प्रयोग गर्ने कूल ग्राहक कति छन् ? नेपाल राष्ट्र बैंकले हालै पछिल्लो ‘पेमेन्ट सिस्टम इन्डिकेटर’ प्रकाशन गरेको छ ।

 

जसअनुसार कात्तिक मसान्तसम्म डिजिटल वालेटका कूल प्रयोगकर्ता एक करोड दुई लाख ३९ हजार ७ जना पुगेका छन् । यो सङ्ख्या २७ ओटा भुक्तानी सेवाप्रदायक अन्तर्गतका प्रयोगकर्ताको हो ।

 

तर डिजिटल भुक्तानीमा सबैभन्दा बढी प्रयोग हुने माध्यमको रुपमा भने मोबाइल बैंकिङ नै अगाडि छ । राष्ट्र बैंकका अनुसार कात्तिक मसान्तसम्म मोबाइल बैंकिङका कूल प्रयोगकर्ताको संख्या एक करोड ५४ लाख ३० हजार ३७९ पुगेको छ ।

 

यसैगरी इन्टरनेट बैंकिङ सेवा लिनेहरूको सङ्ख्या १२ लाख ६३ हजार ८८३ छ । त्यस्तै कनेक्ट आईपीएस प्रयोगकर्ता सात लाख १६ हजार ११२, डेबिट कार्ड प्रयोगकर्ता ९५ लाख ६५ हजार २४, क्रेडिट कार्ड प्रयोगकर्ता दुई लाख सात हजार ६१९ रहेका छन् ।

https://www.techpana.com/2021/112603/