२२ चैत, काठमाडौं । नेपाली कांग्रेससहितका दलहरुले स्थानीय तह निर्वाचनमा निर्वाचन आचारसंहिता पालना गर्ने लिखित प्रतिवद्धता व्यक्त गरेका छन् । तर प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने हस्ताक्षर गरेको छैन ।

निर्वाचन आयोगले ३० वैशाख २०७९ मा हुने स्थानीय तह निर्वाचनमा भाग लिन दर्ता भएका ७९ वटा राजनीतिक दललाई बोलाएको थियो । आयोग पुगेका केही राजनीतिक दलले छलफल विनै हस्ताक्षर गराउन लागिएको भनेर असन्तुष्टि व्यक्त गरेका थिए ।

राजनीतिक दलहरुबाट प्राप्त सल्लाह सुझावलाई समेत समेट्दै ऐन, कानून र संविधान अनुरुप बनाएर राजपत्रमा समेत प्रकाशित भएकाले आचार संहितामा दलहरुलाई हस्ताक्षर गर्न बोलाइएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

नेकपा एमालेले पनि आचारसंहिता पालना गर्ने लिखित प्रतिवद्धतामा हस्ताक्षर गरेको छैन । एमालेबाट कानुन विभागका प्रमुख रमेश बडाल र निर्वाचन विभाग उपप्रमुख  निरज आचार्य आयोग पुगेका थिए । कानुन विभाग प्रमुख बडालले छलफलमा तनाव उत्पन्न भएको अवस्थामा कुनै काम गर्नु उचित नभएकाले हस्ताक्षर नगरेको बताए ।

‘छलफलमा तनाव उत्पन्न भएको अवस्थामा कुनै कार्य गरिनु उचित नभएकोले एमालेले आज कुनै हस्ताक्षर गरेन । शान्त र उचित वातावरण वनाउदै छलफल गर्ने र सवै दलको विचार सुनुवाई हुनु गरेर अगाडि वढ्न आयोगलाई आग्रह छ’ उनले भनेका छन् ।

https://unelma.io/MHhgv