काठमाडौं । राहदानी विभागमा बिचौलियाको हैकम अझै कम हुन सकेको छैन । विभागमा राहदानी लिनेको भीडको लाभ उठाउँदै बिचौलियाको लर्को लाग्ने गरेको छ ।

 

राहदानी छिटो दिलाइदिने बहानामा सेवाग्राहीसँग अनावश्यक रकम असुली गर्दै बिचौलियाले आर्थिक लाभ लिने गरेको विभागले स्वीकार गरेको छ । गर्मीका बेला अशक्त, गर्भवती र सुत्केरी महिलाका लागि लाइनमा बस्न समस्या हुने गरेको छ ।

 

दैनिक तीन हजारभन्दा बढी मानिस विभागबाट राहदानी लिनकै लागि लाइनमा लाग्ने गर्छन् । यो भीड बिचौलियाको आर्थिक लाभको राम्रो स्रोत बन्न थालेको छ । विभागका प्रवक्ता शरदराज अरनले बिचौलियाले छिटो काम गराइदिन्छु, हाकिम सबै चिनेको छु भन्दै सेवाग्राहीबाट रकम असुलेको पाइएको जानकारी दिए ।

 

आफ्नो राहदानी बनाउने भन्दै राहदानी परिसरभित्र प्रवेश गरेर फाँटका कर्मचारीलाई अनावश्यक दबाब र प्रलोभनसमेत ती बिचौलियाले दिने गरेको उनको दाबी छ । सेवाग्राहीहरू भने समयमा विभागले राहदानी नदिएको अवस्थामा बिचौलियामार्फत छिटो काम हुने गरेको बताउँछन् ।

 

बिहानैदेखि लाइनमा बस्ने, कागजपत्र रुजु गराउने जस्ता काममा पनि से वाग्राहीसँग थप रकम असुलेर बिचौ लियाले काम गर्ने गरेका छन् । विभाग परिसर आसपासमा खुलेका खाजा पसल, फोटोकपी पसललगायका स्थानमा बिचौलियाको समूह बसेर सेवाग्राहीलाई प्रभावित पार्ने गर्छन् ।

 

झन्डै तीस जना बिचौ लियालाई कारबाहीका लागि प्रहरीको जिम्मा लगाइएको छ । हरेक दिनजसो एक–दुई जना बिचौलिया पक्राउ पर्ने गरेको विभागले जनाएको छ । बिचौलिया नियन्त्रण गर्नकै लागि सादा पोसाकका प्रहरीको टोली विभाग परिसरमा खटाइएको छ ।

तर पनि बिचौलियाले सेवाग्राहीमाझ आफ्नो प्रभाव पार्न छाडेका छैनन् । यसरी पक्राउ परेकालाई सामान्य कारबाहीमा छाडिने कारणले पनि बिचौलिया पुनः फर्केर बिचौलियाकै काममा आउने गरेको विभागका कर्मचारी बताउँछन् ।

हालसम्म जारी भएका राहदानीमा स्वदेश र विदेशस्थित विमानस्थलको परीक्षण स्थलबाट कुनै गुनासो नआएको प्रवक्ता अरनले बताए । तथापि ३४ पाना र ६६ पानाको राहदानीका हकमा केही अन्योल देखिएको उनले स्वीकार गरे ।

 

-गाेरखापत्रबाट

https://unelma.io/eMhuS