निर्वाचन आयोगले बुधबार देखि अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने गरी नयाँ सेवा सञ्चालनमा ल्यायो । आयोगले वेब एपमा आधारित ‘भोटर लिस्ट प्रि रजिष्ट्रेसन’ सिस्टम पारी परीक्षणको रूपमा यो सेवा सुरु गरेको थियो ।

यसका लागि मतदाता नामावली दर्ता गराउन चाहने नेपाली नागरिकहरूले आयोगको वेबसाइटमा गएर त्यहाँ दिइएको रजिस्ट्रेसन फर्म भर्नुपर्ने व्यवस्था गरिएको छ । जसका लागि सुरुमै आफ्नो मोबाइल नम्बर राख्नुपर्ने हुन्छ ।

त्यसपछि मोबाइलमा आउने ओटीपी कोड राखेपछि मात्रै मतदाता दर्ताको अनलाइन फर्म खोल्न सकिन्छ । तर अनौठो कुरा निर्वाचन आयोगले आफ्नो अनलाइन सेवा परीक्षणमा ल्याएकै मध्यरात कयौँ व्यक्तिहरूलाई एकैपटक दर्जनौँ ओटीपी कोड सहितका एसएमएस गए ।

 

यस्ता एसएमएस प्राप्त गर्नेमा नेपाल प्रहरीका पूर्व डीआईजी तथा आईटी विज्ञ डा राजिव सुब्बा समेत छन् । आफूलाई एकै पटक ११२ ओटा यस्ता एसएमएस प्राप्त भएको बताए ।

 

“बिहानपख एकै पटक ११२ ओटा ओटीपी कोड सहितका एसएमएस देख्दा अचम्म लाग्यो,” उनले भने, “मैले निर्वाचन आयोगको वेबसाइट खोलेको पनि थिइनँ । पहिले नै मतदाता परिचयपत्र भएको मलाई त्यसको चासो पनि थिएन । यदि अरु कसैले झुक्किएर मेरो मोबाइल नम्बर राखेको भए पनि एउटा ओटीपी आउनुपर्ने, तर यति धेरै ओटीपी एकसाथ आउनु स्वभाविक होइन ।”

 

सामान्यतया अनलाइनबाट मतदाता नामावली दर्ता गर्ने क्रममै प्रमाणीकरण स्वरूप ओटीपी पठाउने ‘ईसीएन_अलर्ट’ (ECN_Alert) बाटै विभिन्न प्रयोगकर्तालाई यस्ता एसएमएस गएको बुझिएको छ । यसैगरी बुधबार राति करिब ११ः३० बजेको समयमा निर्वाचन आयोगबाट हाम्रो सम्पर्कमा रहेका अर्का एक व्यक्तिलाई समेत ३६ ओटा ओटीपी कोड प्राप्त भएको थियो ।

साइबर सुरक्षा जानकार तथा भैरव टेक्नोलोजीका संस्थापक विजय लिम्बूले आयोगको झट्ट हेर्दा असुरक्षित पोर्टलबाट ‘एसएमएस बम्बिङ’ भएको हुनसक्ने बताए । अनुसन्धानबाट निर्वाचन आयोगको ‘प्रि-रजिस्ट्रेसन सिस्टम’ ओटीपी बाइपास, एसएमएस बम्बिङ आदिका लागि ‘भल्नरेबल’ देखिएको लिम्बूको भनाई छ ।

“कि निर्वाचन आयोगको अनलाइन सिस्टम नै ह्याक गरेर ह्याकरले यस्तो कार्य गरेको हुनसक्छ,” उनले भने, “होइन भने कसैले त्यसलाई ह्याक गर्ने कोसिस गरेको हुनुपर्छ ।” निर्वाचन आयोगका एक आईटी इन्जिनियरले टेकपानासँगको कुराकानीमा यस विषयमा अनुसन्धान भइरहेको बताए ।

-यो समाचार अपडेटकै क्रममा रहेको छ…

https://unelma.io/GmCta