कुनैबेला जतासुकै नाेकिया माेबाइलकाे रजगज थियाे । अरू प्रतिस्पर्धी फाेन पनि थिए । तर नाेकियासामु टिक्न सक्थेनन् ।

नेपालकै कुरा गर्ने हाे भनेपनि अधिकाशं प्रयोगकर्ताको पहिलो फोन नोकिया नै थियाे सायद । सस्तो र टिकाउ भएका कारण पनि नोकिया धेरैको प्रिय ब्राण्ड बन्याे । मानिसको सञ्चार गतिविधिलाई सहज बनाउन ठूलो भूमिका खेलेको नोकिया आजको स्मार्टफोन बजारमा भने कतै हराएको छ ।

पछिल्लो नयाँ पुस्ताका प्रयोगकर्तालाई नोकिया ब्राण्डकाे विषयमा धेरै थाहा नहुन सक्छ । हुन त आज पनि नोकियाका स्मार्टफोन सार्वजनिक भइरहेकै छन्, तर यो ब्राण्डले विगतको प्रभुत्व फर्काउन सकेकाे छैन ।

सन् १८६५ मा मल्टिनेसनल कम्पनीको रुपमा स्थापना भएको नोकिया सन् २०१० सम्म आइपुग्दा एकाएक विलय भयो ।

स्थापनाकालको समयमा नोकिया; कम्युनिकेसन, इन्फर्मेसन टेक्नोलोजी र कन्ज्युमर इलेक्ट्रोनिक्सजस्ता धेरै किसिमका व्यवसायमा आबद्ध थियो । नोकिया हेर्दा हेर्दै विश्वको ठूलो कम्पनी बनिसकेको थियो ।

नोकियाले ‘मोबिरा’ नामको टेलिफोन कम्पनीलाई सबैभन्दा पहिले खरिद गर्‍याे । नोकियामा मोबिराको आगमनपछि नै टेलिकम ह्याण्डसेट डिभाइस निर्माणको समय सुरु भएको थियो ।

पहिलोपटक १९८२ मा नोकियाले ‘कार फोन’ बजारमा ल्याएको थियो । १० किलो तौलको त्यो पहिलो फोनलाई नोकिया ‘मोबिरा सेनिटर’ नाम दिइएको थियो ।

सन् १९८४ मा आएर ‘नोकिया मोबिरा टकमेन फोन’ सार्वजनिक भयो, जुन पहिलो ट्रान्सपोर्टेबल (एक ठाउँबाट अर्को ठाउँमा लान सकिने) फोन थियो । गाडीभित्र र बाहिर दुवैमा चलाउन मिल्ने त्यो फोन पाँच किलोको थियो ।

 

यसपछि १९८७ मा आएर कम्पनीले नोकिया ‘मोबिरा सिटीम्यान फोन’ सार्वजनिक गर्‍याे, जुन ८०० ग्रामको थियो र यसलाई जहाँ पनि बोकेर हिँड्न सकिन्थ्यो । त्यो फोनको बिक्री यसरी बढेर गयो कि, यसले नोकियालाई पहिलोपटक ब्राण्डको रुपमा बजारमा स्थापित गरिदियो ।

१९९१ मा पहिलोपटक फिनल्याण्डका प्रधानमन्त्ती ह्यारी हलकेरीले नोकियाबाट पहिलो जीएसएम कल गरेका थिए । यसको एक वर्षमै नोकियाका फोन युरोप र अमेरिकामा फैलिन थाले ।

९० को दशकमा नोकियाको २१०० सिरिजको फिचर फोनले कम्पनीलाई निकै ठूलो ‘आइकोनिक ग्रोथ’ दियो । त्यो समयमा नोकियाले चार लाख फोन बिक्री गर्ने लक्ष्य निर्धारण गरेको थियो, तर त्यसको सयौं गुणा, दुई करोड फोन सेट बिक्री गर्‍याे ।

नोकियाले सन् १९९९ सम्म विश्वभर चार करोड ह्याण्डसेटको व्यवसाय हुने अनुमान गरेको थियो । तर फोनको माग र बजार उसले सोचेको भन्दा धेरै ठूलो भयो । कम्पनीले त्याे अवधिमा २५ करोड ह्याण्डसेट बिक्री गर्‍याे ।

एकातिर नोकियाको वृद्धि हुँदै थियो, अर्कोतिर बजारको आकार पनि उसैगरी बढिरहेको थियो । त्यही समयमा नोकियाले मोटोरोला कम्पनीलाई पछि पार्दै विश्व बजारको अग्रस्थान ओगट्न सफल भयो ।

नोकियाले १९९७ देखि १९९८ को बीचमा २५ प्रतिशत बजार शेयर ओगटेर वर्चस्व कायम गर्‍याे । पहिले नोकियाले अमेरिका र युरोपको बजार समात्यो, यसपछि विस्तारै विकासशील अर्थतन्त्र रूस, चीन, भारतहुँदै पुरै एसियामा पकड बनाउन थाल्यो ।

त्यही समयमा नोकियाले नयाँ सिरिजको ह्याण्डसेट सार्वजनिक गर्‍यो । त्यसताका विश्वका ५० उत्कृष्ट ह्याण्डसेलिङ डिभाइसमध्ये उत्कृष्ट २० डिभाइसमा नोकियाकै मोबाइल हुने गरेको थियो ।

त्यो समय मोटोरोलाको अवस्था खराब हुँदै जाँदै थियो र बाँकी टप सेलिङ डिभाइसमा भने साना ब्राण्डहरु रहेका थिए ।

२००३ देखि २००५ को बीचमा नोकियाका ११०० र १११० माेडल बजारमा आए । यी फोनले छिमेकी देश भारतमा मात्रै ७० प्रतिशत बजार कब्जा गरेको थियो । त्यो समय मोबाइल फोनको पर्याय शब्द नै नोकिया बनेको थियो ।

तर विस्तारै नोकियासँग प्रतिस्पर्धाका लागि मोबाइल मेनुफ्याचरिङ इन्डस्ट्रीमा सामसङ, ओप्पो, भिभो, साओमी, लाभा, जिओनी, इन्टेक्स, कार्बन, जेन लगायत धेरै कम्पनी आउन थाले । यो प्रतिस्पर्धामा नोकिया धेरै ठूलो कम्पनी बनिसकेको थियो, तर यसको गति भने सुस्ताउन थालेको थियो ।

नोकिया जे गरिरहेको थियो, त्यो मामलामा उ उत्कृष्ट प्रमाणित भइसकेको थियो । झन् २००८ मा साढे ४६ करोड ८४ लाख ह्याण्डसेट बेचेपछि नोकिया विश्वभर छाइसेकेको थियो ।

तर त्यसबीच अमेरिका र युरोपेली बजारमा एन्ड्रोइड र गुगलको आगमन भयो । त्यस समयमा नोकिया युरोप र अमेरिकी बजारमा कमजोर हुन थाल्यो । तर एसियाको उदाँउदो बजारमा नोकिया चलिनै रहेको थियो ।

त्यसबीच एप्पल र गुगलको जन्म भयो र त्यहीँ समयदेखि नोकियाको बजार ३०-३० प्रतिशतले ओरालो लाग्न थाल्यो । अन्तर्राष्ट्रिय बजारमा एप्पल र गुगलको जन्म भएर नोकिया धराशायी हुन नपाउँदै, भारत र चीनभित्र अनि छेउछाउका एसियाली बजारमा सामसङ र मोटोरोलाले क्रमशः ४० र ५० ओटा फ्लिप फोनका नयाँ मोडल लिएर आए ।

मानिसहरुलाई यी मोडल नयाँ लाग्न थाल्यो र यसले विस्तारै बजार पनि लिन थाल्यो । उता अन्तर्राष्ट्रिय बजारमा एप्पल र गुगलले बजार लिदैँ थिए, एसियाली बजारमा भने मोटोरोला र सामसङले बजार लिदैँ थिए ।

ठूलो आकारको कम्पनी नोकियालाई त्यो समय आफ्नो प्रडक्ट लाइनमा परिवर्तन ल्याउन सानो कम्पनीलाई जस्तो सहज थिएन । एसियाली बजारमा त्यो बेला मोटो रेजरले व्यापक मार्केट शेयर लिन थाल्यो ।

चिनियाँ कम्पनीहरू सस्तो मोबाइल फोन निर्माण तीव्र रुपमा लागिरहेका थिए । सबै कम्पिटिटिभ एडभान्टेजको सीमित जीवन हुन्छ ।

नोकियाको ‘कम्पिटिटिभ एड्भान्टेज’ फिचरफोनमा थियो । स्मार्टफोनमा आउन नपाउँदै त्यसमा पनि स-साना एसियाली कम्पनीले नोकियालाई पछाडि छोड्दै गइरहेको थियो । तर नोकिया भने जहाँको त्यही अड्किरह्यो ।

त्यतिबेला चीन मोबाइल मेनुफ्याक्चरको हब बनिसकेको थियो । ठूला-ठूला कम्पनीहरु पनि चीनको गतिसँग प्रतिस्पर्धा गर्न सकिरहेका थिएनन् ।

२००७ को समयतिर सामान्य रुपमा देखापरेका एप्पल र गुगलले २००९ तिर आइपुग्दा भिमकाय रुप लिए ।

जब नोकियालाई ठूलो धक्का पुग्न थाल्यो र अनिमात्र उसले आफैँमा परिवर्तन ल्याउनुपर्ने आभाष गर्‍यो । उसले पनि आफूलाई बदल्न सुरु गर्न थाल्यो ।

नोकिया जस्तो बृहत कम्पनी तीन तहमा विभाजित थियो । उसको शीर्ष तहमा महंगा (हाई ईन्ड) फोन थिए, दोस्रोमा मिड रेन्ज अर्थात् मध्यमस्तरका मोबाइल थिए र तेस्रोमा सस्ता फोन थिए ।

महँगा फोनका लागि नोकियासँग मानव संसाधन त थियो, तर त्यतिबेला बजार धेरै अगाडि पुगिसकेको थिये ।

त्यस्तै मध्यमस्तरको फोनको बजारमा एन्ड्रोइडले आफ्नै छवि स्थापित गरिसकेको थियो भने सस्ता डिभाइसमा चीनसँग प्रतिस्पर्धा गर्नसक्ने वातावरण नै थिएन ।

माेबाइल बजारमा एप्पल, गुगल आइसक्दा पनि नोकियाले मोबाइल इन्डस्ट्री हार्डवेयरको नभएर सफ्टवेयरको भइसकेको कुरा बुझ्न सकेन । विश्व हार्डवेयरबाट सफ्टवेयरमा शिफ्ट भइसकेको थियो ।

तर नोकिया भने अझै आफ्नो हार्डवेयरको बलमा चल्ने प्रयास गरिरहेको थियो । झर्दा पनि नफुट्ने मोबाइलको बलमा । एप्पलले २०१० सम्म धेरै विकास गर्‍यो ।

एप्पलमा तीन लाख मोबाइल एप्लिकेसन आइसकेका थिए भने एन्ड्रोइडमा पनि सवा लाख मोबाइल एप्स आइसकेका थिए । नोकियासँग २० हजार मोबाइल एप्स पनि थिएन । तर उ अझै पनि सिम्बियन अपरेटिङ सिस्टमलाई अंगालेर बसिरहेको थियो । सिम्बियनलाई पकडेर बस्नु नै उसको सबैभन्दा ठूलो गल्ती भयो । 

इन्टेलिजेन्सको कारण नोकिया कसरी विलय भयो ?

एप्पल र गुगलको एउटा फरक समुदाय बनिसकेको थियो । गुगलको एन्ड्रोइडमा एउटा यस्तो प्लेटफर्म बनिसकेको थियो, जहाँ जोकसै आएर एप बनाउनसक्थे ।

यही कारण ह्याण्डसेट कम्पनीहरु सबै एन्ड्रोइडमा शिफ्ट हुन थाले । यसले गर्दा एन्ड्रोइडको आफ्नै इकोसिस्टम कम्युनिटी बनिसकेको थियो ।

एन्ड्रोइडमा शिफ्ट भएर सामसङ, एलजी र एचटीसी माथि गइरहेका थिए । तर नोकिया सिम्बियनलाई छोड्न तयार थिएन र उ आफ्ना कर्मचारीको संख्यामा भने भारी कटौती गरिरहेको थियो ।

२०१० को अन्त्यमा आउँदा नोकियाले आफ्नो नेतृत्व नै गलत भएको भन्दै तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अली पेक्का कालासभुलाई निलम्बन गरेर सोही वर्षको सेप्टेम्बरमा स्टिफन इलोपलाई नियुक्त गर्‍यो ।

स्टिफनले नोकियामा परिवर्तन ल्याउनुपर्ने बताएपछि नोकियाले पुनः बाउन्स ब्याक गर्ने प्रयास गर्‍यो । यसका लागि उ अगाडि बढ्न सुरु पनि गरेको थियो । तर त्यहीँ उसले ठूलो गल्ती गर्‍यो ।

एन्ड्रोइडमा शिफ्ट हुनका लागि नाेकिया टिम गुगलका सीईओसँग भेट्न गयाे । तर नोकियालाई डर थियो, एन्ड्रोइडमा शिफ्ट भएको खण्डमा पनि नयाँ केही दिन नसक्ने र भीडमा हराउने । यसैले उसले एन्ड्रोइडमा शिफ्ट हुने सोचलाई त्यही रोक्यो र आफ्नै छुट्टै साम्राज्य स्थापना गर्ने सोचका साथ अघि बढ्यो ।

तर त्यसका लागि आवश्यक एउटा अन्तरनिर्भर नेटवर्कको इकोसिस्टम नोकियासँग थिएन । यसले उसलाई थप एक्लो बनायो । एन्ड्रोइडतिर जाँदै गरेको नोकिया एका-एक फर्केर माइक्रोसफ्टतिर आयो ।

माइक्रोसफ्टसँग सफ्टवेयर र आफूसँग भएको हार्डवेयरको बलमा विश्वमा राज गर्ने नोकियाको उद्देश्य थियो । तर उसले बुझ्नमा गल्ती गर्‍यो । विण्डोजको प्लेटफर्ममा मोबाइल एप विकास भइसकेकाे थिएन र विण्डोज कहिल्यै मोबाइलको लागि सही ओपरेटिङ सिस्टम थिएन ।

यता नोकियाको इकोसिस्टम बन्न सकिरहेको थिएन, उता गुगल अझ ठूलो ठूलो हुँदै थियाे । सबैले गुगल र एप्पलमा मात्र एप्सहरु बनाउन थाले । यी दुई कम्पनी बढ्दै जान थाले । तर नोकिया एक्लिदैँ गयो ।

इकोसिस्टम बन्न नसक्दा नोकिया निस्सासिन थाल्यो र विश्वले उसलाई भुल्न थाल्यो । गुगलले यसरी सुनियोजित तरिकाले आफ्नो ठूलो नेटवर्क बनाएर सबैलाई कुनामा पुर्‍याएर कमजोर बनाइदियो ।

एपका स्वामित्वकर्ता कम्पनी, डेभलपरदेखि, ह्याण्डसेट फोनका निर्माता कम्पनी सबै गुगलभित्र आइसकेका थिए । जब यी तीन तरिकाका संस्थाहरु गुगलमा आए, तब गुगलको आफ्नै इकोसिस्टम भयो र चारै दिशामा गुगलको नाम गुञ्जयमान हुन थाल्यो । तर नोकियाले केही गर्न सकेन ।

अब हार्डवेयर, सफ्टवेयर, डेभलपर, एप्लिकेसन, ई-कमर्स, विज्ञापन, सर्च, सोसल एप्लिकेसन, लोकेसन बेस्ड सेवा र युनिफाइड कम्युनिकेसन सबै एन्ड्रोइडभित्र आयो । 

नोकियाले आफूलाई परिवर्तन गर्न खोजेको थियो, तर गलत दिशामा गर्न पुग्यो । पहिले सिम्बियनलाई लिएर गलत दिशामा थियो । पछि पुनः माइक्रोसफ्टलाई लिएर गलत दिशामा पुग्यो ।

अर्कोतर्फ एप्पलले आफ्ना सेवा आईक्लाउड, एप्पल म्युजिकमा ल्यायो । एप्पलले एयरड्रप, ह्याण्डअफ, फाइन्ड फ्रेण्ड्स, युनिर्भसल क्लिपबोर्ड, अटो अनलकजस्ता सफ्टवेयर फिचर ल्यायाे । आईफोन, आईप्याड, म्याकबुक, एप्पल वाच सबैबाट एप्पल एकअर्को प्रडक्टबाट जोडिँदै जाँदै थियो । उसले पनि डिभाइसहरुको आन्तरिक इकोसिस्टम तयार गरेको थियो ।

अमेरिकाभित्र उसको इकोसिस्टम निकै बलियो बन्दै गयो । यससँगै एप्पलको एप्पल टिभी, आईपोड, म्याकओएस एक्स, सफारी, म्याक पीसी, आईवेयर, आईप्ले आउन थाले ।

यसबाट एप्पलको आफ्नै इकोसिस्टम बन्यो । एन्ड्रोइडले ओपन इकोसिस्टम बनायो भने एप्पलले क्लोज्ड इकोसिस्टम तयार पार्‍याे । 

सीईओको भ्रष्ट चरित्र, माइक्रोसफ्टसँगको साँठगाँठ

नोकियामा नयाँ सिईओको रुपमा आएका स्टिफन इलोपमा आवश्यक कला थियो, तर इच्छाशक्ति थिएन । फलतः उनी नोकियाका लागि विश्वासिलो पात्र बन्न सकेनन् ।

स्टिफन इलोपले नोकियालाई माइक्रोसफ्टको पसल बनाउन लागेको कुरा अन्तर्राष्ट्रिय मिडियामा फैलिन थाल्याे । २०१० मा नोकिया प्रवेश गर्नुअघि स्टिफन इलोप माइक्रोसफ्टमा नै इन्टरनल बिजनेस हेडको रुपमा कार्यरत थिए ।

उनी किन नोकियाको बर्बादीको ठूलो कारण बने ? 

फोर्ब्समा २०१३ को सेप्टेम्बरमा प्रकाशित एक लेखअनुसार स्टिफन इलोपले जानीबुझी चुपचाप नोकियालाई माइक्रोसफ्टमा घुसाउन चाहन्थे ।

उनलाई थाहा थियो नोकिया एन्ड्रोइडमा जानुपर्छ भन्ने कुरा । नोकियाको आफ्नै एउटा पावरफुल ओपरेटिङ सिस्टम ‘मिगो’ थियो । साम्बियन पनि त्यो समय नोकियासँग थियो । तर त्यस समय मिगो ओएसमा बनेको एउटा फोन आएको थियो, जसले एक्कासी बजारमा राम्रो गरिरहेको थियो ।

जानकारहरु तत्कालीन समयमा मिगोको एकदमै राम्रो रिभ्यु आएको बताउँछन् । अपरेटिङ सिस्टममा मिगोको ठूलो सम्भावना थियो । तर स्टिफनले जानीबुझी मिगोलाई बन्द गरिदिए ।

यसको पछाडिको कारण भनेको स्टिफन इलोप माइक्रोसफ्टका तत्कालीन सीइओ स्टिभ बालमरपछिको उत्तराधिकारीको रुपमा देख्न चाहन्थे ।

माइक्रोसफ्टले नोकियालाई खरिद गर्ने र नोकियासँगै स्टिफन पनि माइक्रोसफ्टमा गएर आगामी सीईओ बन्ने आन्तरिक साँठगाँठ थियो भन्ने चर्चा चलेको थियो। प्रतिस्पर्धी नेतृत्व ल्याउने प्रयासमा नोकियाले भ्रष्ट चरित्र भएको व्यक्तिलाई छिराएर आफ्नै बर्बादी रचेको थियो ।

कम्प्युटर, ल्यापटप, डेस्कटपमा वर्चस्व कायम गरेको माइक्रोसफ्ट मोबाइलको दुनियाँमा पनि छवि कायम गर्न चाहन्थ्यो । यसकारण उसले अन्ततः नोकियाको स्वामित्व खरिद गर्‍यो ।

स्टिफन नेतृत्वमा भएकै कारण उनले विश्वको ब्राण्ड स्थापना गरेको नोकिया कम्पनीलाई सात अर्ब डलरमा माइक्रोसफ्टलाई बिकाए ।

नोकियाको स्वामित्व खरिद गरेपनि उसले ब्राण्ड नाम भने नोकियाको सट्टा माइक्रोसफ्ट नै राख्यो ।

सात अर्ब डलरमा नोकियाको ब्राण्ड खरिद गर्नुको पछाडिको उसको एउटै स्वार्थ भनेको माइक्रोसफ्टलाई आफ्नो व्यवसाय विस्तार गर्न हार्डवेयरको रेडिमेड कम्पनी आवश्यक थियो, जुन नोकिया छदैँ थियो ।

हार्डवेयरमा नोकियाको छवि बलियो भएका कारण माइक्रोसफ्टले उसको फिचरफोनको माध्यमबाट एसियाली बजारलाई कभर गर्ने सोच बनाएको थियो ।

तर एसियामा ह्वावे, साओमी जस्ता चिनियाँ कम्पनीहरुले नोकियाको फिचरफोनको मूल्यमा स्मार्टफोन ल्याउन थालिसकेका थिए । 

एचएमडी ग्लोबलसँग बाउन्स ब्याक

सन् २०१६ मा नोकियाका पूर्वकर्मचारीहरुले मिलेर एचएमडी ग्लोबल नामको एउटा कम्पनी बनाए । फिनल्याण्डमा नोकियाका पुराना कर्मचारीहरुले पुनः माइक्रोसफ्टका सीईओ सत्य नाडेलासँग अप्रोच गरेर कम्पनी फिर्ता लिए ।

एचएमडी ग्लोबलले यो कम्पनीलाई बनाउने र बेच्ने अधिकार १० वर्षसम्मका लागि माइक्रोसफ्टसँग लिइसकेको छ । नोकियाले तत्कालीन समयमा गरेको गल्तीलाई सुधार गर्ने रणनीतिका साथ अहिले एचएमडी बाउन्स ब्याक भएको छ ।

जब नोकिया उचाइमा थियो, तब यो आफैँ बिक्थ्यो । उसले रिटेलर तथा डिस्ट्रिब्युटरसँग कहिले सम्बन्ध स्थापित गरेन । कम्पनीले रिटेलरले थोरै मार्जिन दिन्थ्याे ।

तर अहिले एचएमडी ग्लोबलले यो भूल सुधार गर्दैछ । उसले डिस्ट्रिब्युसन नेटवर्कलाई बलियो बनाउँदै लगेको छ । पहिले जुन नोकिया इकोसिस्टमभन्दा बहिर थियो, अहिले यो एन्ड्रोइडको इकोसिस्टमभित्र आएको छ ।

नोकिया फोन अहिले फक्सकोनले बनाइरहेको छ । यसमा ब्राण्ड नोकियाको प्रयोग भएको छ, तर सेल्स मार्केटिङ र ब्राण्डिङ भने एचएमडी ग्लोबलले गरिरहेहको छ ।

एचएमडी ग्लोबल कुनै जोखिम मोल्न चाहँदैन । अहिले पनि कम्पनी नाै हजारदेखि १५ हजार रुपैयाँबीचको मूल्य पर्ने मोबाइल फोन निर्माण गर्नमा केन्द्रित छ ।

यसबीच नोकियाले ३३१५ फ्ल्यागशिप फिचर फोन पनि फिर्ता लिएर आएको छ । साथै स्मार्टफोन पनि लिएर आएको छ ।

अहिले स्मार्टफोन र फिचरफोन सार्वजनिक गर्ने क्रम जारी छ । डिस्ट्रिब्युटर र रिटेलर पनि व्यापक मात्रामा बढेका छन् ।

आमकम्पनीलाई वर्षौँ लाग्ने काम केही समयमै नोकियाले गरेर देखाउन थालेको छ । एचएमडी ग्लोबल नोकियाको ब्राण्ड इक्युटी प्रयोग गरेर व्यापार गरिरहेको छ । आज पनि नोकियाको रिकल्ड भ्यालु धेरै भएको एचएमडीकाे दाबी छ ।

नोकियाको पुरानो लिगेसी, विश्वासनीयता, बफादारिता, र गुणस्तरजस्ता कुरालाई लिएर एचएमडी ग्लोबल पुनः बजारमा आएको छ ।

यद्यपि अझैँ पनि कम्पनीले धेरै काम गर्न बाँकी छ । प्रविधिको विकास र मानिसको दैनिकी तीव्र रुपमा परिवर्तन भइरहँदा स्मार्टफोनको फिचरमा पनि मानिसहरू त्यस्तै परिवर्तन चाहन्छन् ।

अन्य कम्पनीले नयाँ चिपसेटहरू प्रयोग गरिरहँदा नोकिया भने अहिले पनि पुराना प्रोसेसरहरूमा नै निर्भर छ । फोनको हार्डवेयरदेखि लिएर सफ्टवेयरसम्म धेरै कुरामा नोकियाले परिवर्तन गर्नुपर्नेछ ।

परिवर्तित प्रविधिसँगै नोकियाले आफूलाई परिवर्तन गर्दै लाने हो भने आउने दिनमा नोकियाले पुन: बजार नपाउला भनेर भन्न सकिन्न । 

https://unelma.io/f0F9e