कम्पनी घाटामा गएपछि विद्युतीय कार निर्माता टेस्लाले आफ्नो ७५ प्रतिशत बिटक्वाइन बिक्री गरेको छ । कम्पनीले हालै सार्वजनिक गरेको सन् २०२२ को दोस्रो त्रैमासिक प्रतिवेदनअनुसार चीनको साङ्घाईस्थित कारखाना बन्द भएपछि कम्पनीले बजारको मागअनुसार गाडी उत्पादन गर्न सकेन ।

यसले गर्दा दोस्रो त्रैमासिकमा कम्पनीले घाटा व्यहोर्नु परेको प्रतिवेदनमा उल्लेख छ । साथै क्रिप्टोकरेन्सीको मूल्य पनि लगातार घट्दै गएका कारण टेस्लाले आफूसँग भएको ७५  प्रतिशत बिट्क्वाइन बिक्री गरेको हाे ।

दोस्रो त्रैमासमा टेस्लाको नाफा ३२ प्रतिशतले घटेर दुई अर्ब २६ करोड डलर पुगेको छ । एक महिनाअगाडि मात्र कम्पनीका कार्यकारी प्रमुख एलन मस्कले बिग्रदो अर्थतन्त्रदेखि आफू दुःखी भएको र कम्पनीले १० प्रतिशत कर्मचारीलाई रोजगारीबाट निकाल्नुपर्ने बाध्यता आइपरेको अभिव्यक्ति दिएका थिए ।

विश्वबजारमा बिग्रदो आपूर्ति श्रृङ्खलाका कारण टेस्लालाई पनि असर गरेको हो । कोरोना संक्रमण र लकडाउनका बीच कम्पनीले आफ्नो चीनको साङ्घाई रहेकाे कारखाना बन्द गर्नुपर्‍याे ।

यसले गर्दा दोस्रो त्रैमासमा कम्पनीले दुई लाख ५४ हजार कारमात्र बजारमा पठाएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो १८ प्रतिशतले कम हो ।

यसैबीच कम्पनीले पुराना कर्मचारीहरूलाई निकालेको छ भने नयाँ कर्मचारीहरू थप नगर्ने घोषणा पनि गरेको छ ।

https://unelma.io/k8HqW