आजको दिनमा हामी भर्चुअल गतिविधिमा अभ्यस्त भइरहेका छौं । विशेषगरी सामाजिक सञ्जाल हाम्राे दैनिककाे अभिन्न अंग बनेको छ ।
देशविदेशमा भइरहेका गतिविधिहरूको अपडेट लिन, कसैसँग सम्पर्कमा रहन, आफ्नो कुरा सार्वजनिक गर्न, विज्ञापन गर्नदेखि अध्ययन-अध्यापन र उपचारसम्म आजभोलि भर्चुअल प्रणालीबाट हुने गरेको छ ।
यसरी भर्चुअल माध्यम हाम्रो जीवनको दैनिकी बनिरहेको समयमा जति प्रयोग बढेको छ, त्यति नै सचेत रहन पनि आवश्यक छ ।
हरेक कुराको सकारात्मक र नकारात्मक दुवै पक्ष हुन्छ भनेझैँ भर्चुअल संसारका पनि राम्रा र नराम्रा पक्ष छन् । याे दुनियाँमा सुरक्षित रहन के गर्न हुने तथा के गर्न नहुने भन्ने विषय जान्न महत्त्वपूर्ण भइसकेकाे छ ।
के गर्ने ?
- कम्तीमा एक हप्तामा एक पटक आफ्नो डिभाइसको क्यास फाइल, स्वचालित फारम भर्ने कुकिजहरू इन्टरनेट ब्राउजहरूको हिस्ट्री हटाउनुपर्छ ।
- सार्वजनिक वाई-फाई र डिभाइसहरू प्रयोग गरेर आफ्नो अकाउन्ट प्रयोग गर्दा ‘डु नट रिमेम्बर’ अप्सनमा क्लिक गर्नुपर्छ
- भर्चुअल माध्यममार्फत आफूसँग को जोडिनसक्छ, कसले आफूलाई मेसेज पठाउनसक्छ र कसले पोस्टहरू हेर्नसक्छ भन्ने कुरा नियन्त्रण गर्न सामाजिक सञ्जालका प्लेटफर्महरूमा गोपनीयताका सेटिङहरू प्रयोग गर्नुपर्छ । आफ्नो अकाउन्टमा अरुले पोस्ट गरेको कुरा देखिने वा नदेखिने अप्सनमा आफूले छान्न मिल्ने बनाउनुपर्छ ।
- आफूले चिनेका वा धेरै पारस्परिक (म्युचल) साथीहरू भएका व्यक्तिहरूकाे मात्र ‘फ्रेन्ड रिक्वेस्ट’ स्वीकार गर्नुपर्छ ।
- जुम, मिटजस्ता अनलाइन भिडिओ मिटिङ प्लेटफर्महरू प्रयोग गर्नुअघि मिटिङमा सहभागी हुनेहरूको पहुँच नियन्त्रण गर्ने, अवरोध गर्ने सहभागीहरूलाई मौन बनाउन वा हटाउनका लागि ती प्लेटफर्महरूका गोपनीयता र सुरक्षाका प्रावधान कस्ता हुन्छन्, जाँच गरी प्रयोग गर्नुपर्छ ।
- सिग्नल वा ह्वाट्सएपजस्ता सुरक्षित मेसेजिङ एपहरू प्रयोग गर्नुपर्छ, जसमा आफुले आदानप्रदान गर्ने मेसेजहरू इन्ड-टु-इन्ड इन्क्रिप्सनमा आधारित हुन्छ ।
- प्रोटोन मेल, टुटानोट ईमेलजस्ता प्लेटफर्मकाे प्रयोग गर्न सकिन्छ । यस्ता प्लेटफर्मले गोप्य कुराकानी गर्न मद्दत गर्छ र संवेदनशील सूचना बाहिर जान पाउँदैन ।
के नगर्ने ?
- विभिन्न सामाजिक सञ्जालका अकाउन्टहरू एक-अर्कासँग नजोड्ने ।
- ह्याकहरूबाट सुरक्षित रहन वा राज्य/गैरराज्य निकायहरूबाट व्यक्तिगत डेटा संकलन गर्नबाट जोगिन सार्वजनिक रुपमा उपलब्ध वाई-फाई आफ्नो डिभाइसमा प्रयोग नगर्ने । सुरक्षाका लागि मोबाइल डेटा प्रयोग गर्न सकिन्छ ।
- आफू ठ्याक्कै कहाँ छु भनेर सामाजिक सञ्जालमा उल्लेख नगर्ने ।
- सामाजिक सञ्जालमा आफ्नो व्यक्तिगत विवरण, जन्ममिति, ठेगाना, फोन नम्बर, नागरिकता, बैंक विवरण वा अन्य महत्त्वपूर्ण कागजातका विवरणहरू शेयर नगर्ने । यी विवरणहरूले डिजिटल असुरक्षाको जोखिम बढाउँदछ ।
- अनलाइन भिडिओ मिटिङ तथा कन्फ्रेन्स प्लेटफर्महरूको मिटिङ आईडी तथा पासकोड सामाजिक सञ्जालमा शेयर नगर्ने ।
- सामाजिक सञ्जालबाट सिधै समाचार/सूचनाका लिंकहरू नखोल्ने । यसलाई अर्को ब्राउजर ट्याबमा लगेर मात्र खोल्ने ।
- आफूले प्राप्त गरेको लिंकका शीर्षक र ती सामग्री कुन कम्पनी र साइटबाट आएका हुन् भन्ने कुराहरू जाँच नगरी ती लिंक क्लिक नगर्ने ।
(पानोस साउथ एसियाले सार्वजनिक गरेको ‘अनलाइनमा हुने लैंङ्गिक दुष्प्रचारको पहिचान र प्रतिरोध कसरी गर्ने?’ सम्बन्धी रिपोर्टबाट साभार)
https://unelma.io/45PSu