असोजमा निक्षेपको ब्याजदर बढाएका बैंकहरुले प्रथम त्रैमास (साउनदेखि असोज) सम्म बेसरेटमा भएको औसत वृद्धिको आधारमा कर्जाको ब्याजदर पनि कात्तिकबाट बढाउनेछन् । निक्षेपको ब्याजदर बढेसँगै बैंकहरुको बेसरेट पनि बढ्छ । यसले कात्तिकबाट नयाँ कर्जा मात्रै होइन, पुरानो कर्जा समेत महँगिने भएको छ ।

कर्जाको ब्याजदर फेरि बढ्ने भएको छ । कात्तिक १ गतेदेखि बैंक कर्जाको ब्याजदर १८ प्रतिशतसम्म पुग्ने अनुमान छ । निक्षेपको ब्याजदर भने असोज महिनासम्मको जस्तै हुने छ ।

बेस रेट घटीमा पनि ०.५ प्रतिशत विन्दुले बढ्ने र त्यसमा प्रिमियम पनि थपिंदा ब्याजदर बढेर १७ देखि १८ प्रतिशतसम्म पुग्ने नेपाल बैंकर्स संघका कार्यकारी सदस्य सन्तोष कोइराला बताउँछन् ।

बैंकहरुले कात्तिकको लागि व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३३ प्रतिशत ब्याजदर प्रकाशित गरेका छन् । यसैगरी रेमिट्यान्स मुद्दतिमा १३.१३ प्रतिशतदेखि १५.१३३ प्रतिशत ब्याजदर प्रकाशित गरेका छन् । भदौसम्म व्यक्तिगत मुद्दति ११.०३ प्रतिशत र संस्थागतमा ९.०३ प्रतिशत थियो । उक्त ब्याजदर असोजमा बढाएर १२.१३३ र १०.१३३ प्रतिशत पुर्याइएको थियो ।

यस्तै साधारण बचतमा ६.०३ प्रतिशत न्युनतम र ८.०३ प्रतिशत अधिकतम ब्याजदर रहेकोमा असोजमा न्युनतम ७.१३३ प्रतिशत र अधिकतम ९.१३३ प्रतिशत तथा रेमिट्यान्स बचतमा १.१३३ प्रतिशत ब्याजदर पुर्याइएको थियो । बैंकर्स संघमा भद्र सहमति भएर कात्तिकको लागि पनि बैंकहरुले सोही ब्याजदरलाई निरन्तरता दिएका छन् ।
https://unelma.io/BgrFt