अव्यवस्थित तारका कारण वीरगञ्ज शहर कुरुप देखिएको छ । केवल, इन्टरनेट तथा टेलिफोनका तार विद्युतको पोलमा गुजुल्टिएको देख्न सकिन्छ । बेला बेलामा पोलमा नै तार जल्ने गरेको छ । जस कारण उपभोक्ता मारमा पर्ने गरेका छन् ।

बिजुलीका पोलहरुमा तर बेरिएको दृश्य वीरगञ्ज बासीका लागि सामान्य बनिसकेको छ । विजुलीको तार, इन्टरनेटको तार, टेलिफोनको तार, केवल टिभीको तार । विद्युतको पोलमा तारै तार देख्न सकिन्छ । कतै तार सडक छेउको रुखमा अल्झिएको देखिन्छ त कतै चुडिएर भूँईमा लत्रिएको पनि हुन्छ ।

यस्तो कुरुप दृश्यले आर्थिक नगरी वीरगञ्जको खिल्ली उडाइरहेको थियो । तर अब वीरगञ्जमा यस्ता अव्यवस्थित तार हटाइने भएको छ । वीरगञ्ज महानगरपालिकाले विद्युतको पोलमा अव्यवस्थित रुपमा टाँगिएको तार व्यवस्थापन गर्न सुरु गरेको हो । महानगरमा सेवा प्रवाह गर्दै आएका इन्टरनेट तथा केवल टिभीका प्रतिनिधिसहितको टोलीले शुक्रबारदेखि अव्यवस्थित तार हटाउन सुरु गरेका छन् । जथाभावी टांगिएका तारका कारण नगरको सौन्दर्यता विग्रिनुका साथै दुर्घटनाको सम्भावना समेत देखिएकाले व्यवस्थित गर्न लागिएको मेयर राजेशमान सिंहले जानकारी दिए ।

‘महानगर क्षेत्रभित्र मुख्य तथा शाखा सडक छेउका विद्युतीय पोल र टेलिकमका पोलहरूमा टाँगेको तारहरू अव्यवस्थित छ । विभिन्न कम्पनीका नेट सेवा प्रदायक तथा केबल टिभीहरुको तार गुजुल्टो पारेर राखिएको छ’, उनले भने, ‘यसले महानगरलाई कुरूप बनाएको छ । पोलमा लगाईएका अनावश्यक तार हटाउन सुरु गरेका छौं । क्रमशः सबैतिरको हटाउँछौं ।’