पछिल्लो एक महिनाको अवधिमा नेपालमा डिजिटल माध्यमबाट करिब पाँच खर्ब बराबरको कारोबार भएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, मोबाइल वालेट र कनेक्ट आईपीएस, क्यूआरमार्फत कुल चार खर्ब ७६ अर्ब ९५ करोडभन्दा बढीको कारोबार भएको हो ।

राष्ट्र बैंकले हालै देशको मंसिर महिनासम्मको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन २०७९ सार्वजनिक गरेको छ । जारी प्रतिवेदन अनुसार मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, मोबाइल वालेट र कनेक्ट आईपीएस, क्यूआरमार्फत हुने कारोबारको संख्या र कारोबार रकम अघिल्लो महिनाको तुलनामा घटेको छ । 

 

मंसिर महिनामा कनेक्ट आईपीएसमार्फत कुल ३६ लाख ५४ हजार ५९५ ओटा कारोबार हुँदा दुई खर्ब ७९ अर्ब ८९ करोड रुपैयाँ कारोबार भएको छ । त्यस्तै दुई लाख ३४ हजार १०७ पटक भएको इन्टरनेट बैंकिङ कारोबारमार्फत ११ अर्ब ७० करोड रुपैयाँ कारोबार भएको छ ।

यो अवधिमा मोबाइल बैंकिङमार्फत एक खर्ब ५१ अर्ब ९८ करोडभन्दा बढी रकम कारोबार भएको देखिन्छ । त्यसका लागि कुलु दुई करोड ५ लाख ८ हजार २९ पटक कारोबार भएको छ तथ्याङ्कले उल्लेख छ । 

 

त्यस्तै वालेटमार्फत यो अवधिमा १७ अर्ब २२ करोड बराबरको कारोबार भएको छ । त्यसका लागि एक करोड ५५ लाख १९ हजार ७४३ पटक कारोबार भएको देखिन्छ । जुन अघिल्लो महिनाको तुलनमा केही बढी हो । अघिल्लो महिना अर्थात कात्तिक महिनाको अन्त्यसम्म वालेटमार्फत १६ अर्ब ५६ करोड बराबरको कारोबार भएको थियो । 

मंसिर महिनामा क्यूआरमार्फत कुल ४६ लाख १२ हजार ३०७ पटक कारोबार भएको छ । जसमार्फत १६ अर्ब १४ करोड रुपैयाँको कारोबार भएको छ ।