विद्युतीय राहदानी कार्यान्वयनमा आएपछि हालसम्म ४०० भन्दा बढी विचौलिया समातिएका छन् । सेवाग्राहीमार्फत पैसा असुली अनलाइन फारम भर्ने वा अन्य प्रलोभन देखाउने व्यक्तिलाई नियन्त्रणमा लिई महानगरीय प्रहरी वृत्त कालीमाटी पठाउने गरेको राहदानी विभागका महानिर्देशक सुरेन्द्रकुमार यादवले जानकारी दिए ।

''एक वर्षको अवधिमा काठमाडौंबाट मात्रै ४०० भन्दा बढी विचौलिया समातिएका छन्,'' टेकपानासँग उनले भने, ''अहिले दिनमै औसतमा ४-५ जना विचौलिया समात्छौं ।'' ​सेवाग्राहीबाट मनपरी शुल्क लिई विचौलियाले चाँडो बायोमेट्रिक डेट बुक गराइदिने भन्दै प्रलोभन देखाउने गरेको सूचना विभागमा आइरहेको उनी बताउँछन् ।

 

''ई-पासपोर्टको अनलाइन फारम भर्न शुल्क लाग्दैन । तर विचौलियाले सोझा सेवाग्राहीलाई वशमा पारी ठगी गर्ने गर्छन् । यस्तो सूचना भेटे तत्काल विभाग वा प्रहरीलाई खबर गर्न अनुरोध गर्छु,'' उनले भने ।

जिल्ला प्रशासन कार्यालयहरुलाई शंकास्पद साइबरहरुमा छापा हान्न आग्रह गरेकाे पनि उनले सुनाए । ''कार्यालय समयमा विभाग वरपर विशेष प्रहरीसमेत तैनाथ गरिएको छ । प्रशासन कार्यायललाई पनि शंकास्पद साइबर र एजेन्टहरुकहाँ छापा हान्न अनुरोध गरेका छौं । तैपनि पूर्ण रुपमा यस्ता गतिविधि नियन्त्रणमा आउन सकेको छैन ।''

 

अर्कोतर्फ अधिकांश सेवाग्राही राहदानीको अनलाइन फारम भर्ने वेबसाइट नचल्ने, चले पनि एपोइन्टमेन्ट डेट नपाउने समस्याका कारण विचौलियाकहाँ धाउने गरेका छन् ।

राहदानीका लागि तोकिएका इन्रोलमेन्ट सेन्टर नजिकै खुलेका साइबर पसल र एजन्टहरुले शुल्क लिई अनलाइन फारम भरिदिने गरेका छन् । त्यस्तै सामाजिक सञ्जालमा सम्पर्क नम्बर नै राखेर अनलाइन फारम भरिदिन्छौं भन्ने पोस्ट प्रशस्तै देख्न सकिन्छ ।

राहदानी विभागभित्र भेटिएकी एक सेवाग्राहीले भनिन्, ''मैल वेबसाइटबाट अनलाइन फर्म भर्नै सकिनँ । तर 'दलाल'लाई हिजो पैसा दिएर काम लगाउँदा आजको डेट पाइयो ।''

राहदानी विभागको वेबसाइटमा नियमित 'समस्या' देखिँदा यसको फाइदा विचौलियाले उठाइरहेका छन् । विचौलियाको सहारा लिएर काम गर्नुपर्ने बाध्यता धेरै सेवाग्राहीलाई भएपनि विभागले न आफ्नो प्राविधिक क्षमता बढाउन सकेको छ, न त प्रभावकारी रुपमा नियमन नै गर्न सकेको छ । 

जिल्लाबाटै राहदानी आवेदन भर्नसक्ने व्यवस्था ल्याएपनि अधिकांश सेवाग्राही काठमाडौंमै आउनाले वेबसाइटमा समस्या सिर्जना भएको विभागका महानिर्देशक यादव बताउँछन् । 

''अधिकांश सेवाग्राही काठमाडौंमै आउन खोज्छन् । सबैले एकैपटक अनलाइन फर्म भर्न खोज्दा उच्च ट्राफिकका कारण वेबसाइटकाे सर्भरले थेग्न सक्दैन,'' उनी भन्छन्, तत्काल राहदानी चाहिनेहरूले मात्र विभागमा फारम भरून् भन्ने चाहना हाम्रो हो । तर सबै प्रकारका सेवाग्राही यहीँ (विभागमा) आएर चाँडै राहदानी बनाउन खोज्दा समस्या निम्तिरहेको छ ।'' 

हाल विभागले हरेक दिन दुई हजारका लागि दिउँसाे ३ः३० बजेदेखि अनलाइन कोटा प्रणालीमार्फत आवेदन दिनसक्ने व्यवस्था ल्याएको छ ।

सम्बन्धित समाचार: ई-पासपोर्टको नाममा जनतालाई सास्ती, विभाग भन्छः अनलाइन प्रणालीले धान्न सकेन

https://u16p.com/bnwkozq9o6