नवनियुक्त उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले स्वदेशमा उत्पादन भएका सवारीसाधन दर्ताका लागि सहजीकरण गर्ने निर्णय गरेका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको जिम्मेवारी सम्हाल्दै श्रेष्ठले सार्वजनिक सवारी व्यवस्थापनसम्बन्धी कार्यदल निर्माण गर्ने निर्णय गरेका हुन् । उनले भने, ‘सामाजिक, आर्थिक विकासमा यस मन्त्रालयको महत्वपूर्ण भूमिका हुन्छ ।

यसअघि भएका जेजति योजनागत रूपमा काम भएका छन्, त्यसको समीक्षा गर्दै थप योजनगत रूपमा काम गर्नेछु ।’ मन्त्रालयका कमी–कमजोरीलाई सुधार गर्न विज्ञटोली, कर्मचारीलगायतका सरोकारवालाहरूको सुझाव लिएर काम गर्ने उनले बताए ।

उनले भने, ‘अब भ्रष्टाचार गर्ने, पैसामार्फत मन्त्रालयलाई कब्जामा राख्छु भन्नेहरूको दिन सकियो ।’ जनताले पाउनुपर्ने कुनै पनि सुविधा घुस नखुवाईकन, भनसुन नगरीकन पाउने वातावरण बन्ने उनले प्रतिबद्धता व्यक्त गरे । अबको मुख्य लक्ष्य नै जनताको जीवनमा परिवर्तन ल्याउने रहेको उनले बताए । ‘राजनीति परिवर्तन र राजनीतिक अधिकार त प्राप्त भयो । तर, आमजनताको जीवन अझै परिवर्तन भएको छैन,’ उनले भने, ‘अब सामाजिक न्याय, समृद्धि र समाजवादको आधार बनाउने गरी काम गर्छौँ ।’  

https://u16p.com/cyyclbb6d7