ई–सेवा मनी ट्रान्सफरले आन्तरिक रेमिट्यान्स (विप्रेषण) को कारोबार बन्द गरेको छ । आइतबारबाट लागू हुने गरी कम्पनीले आफ्नो सिस्टमबाट आन्तरिक रेमिट्यान्स हटाएको हो । आफ्नो कार्यक्षेत्र नै देशबाहिरबाट विदेशी मुद्रा स्वदेश भित्र्याउनु रहेको भन्दै आन्तरिक रेमिट्यान्स कारोबारलाई बन्द गरेको कम्पनीले जनाएको छ ।

‘‘हामीले आजैबाट लागू हुने गरी आन्तरिक रेमिट्यान्स कारोबार बन्द गरेका छौं,’’ ई–सेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले टेकपानासँग भने, ‘यो विषयमा हामीले यसअघि नै राष्ट्र बैंकलाई जानकारी गराएका थियौं । राष्ट्र बैंकले पनि हाम्रो यो निर्णयलाई स्वागत गरेको छ ।’’

विप्रेषण विनियमावली ०६७ विनियम ७ को खण्ड (ञ) मा विप्रेषकले विदेशबाट विप्रेषणका रूपमा विदेशी मुद्रा प्राप्त गर्ने (इनवार्ड रेमिट्यान्स) कार्य मात्र गर्न पाउने व्यवस्था छ । तर, कम्पनीहरूले विभिन्न बैंकको इजाजत प्रयोग गरेर आन्तरिक रेमिट्यान्स सेवा समेत उपलब्ध गराउँदै आएका छन् ।

यसअघि राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीले विदेशबाट रेमिट्यान्समा विदेशी मुद्रा प्राप्त गर्ने कार्य मात्र गर्न पाउने व्यवस्थाको पालना गर्नू भनी निर्देशन समेत दिएको थियो । उक्त निर्देशन पालना गर्नु पर्ने हाम्रो दायित्व भएकाले यसको सुरुवात गरिएको कोइरालाले बताए । ‘‘यो खालको कदम हामी मध्ये कसैले लिनै पर्ने थियो,’’ उनले भने, ‘ ई–सेवा मनी ट्रान्सफर त्यसमा पहिलो भएको छ ।’’

यसका लागि कम्पनीको सञ्चालक समितिले ०७९ पुस १६ पछि आन्तरिक रेमिट्यान्ससम्बन्धी कारोबार पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा आजबाट आन्तरिक रेमिट्यान्स बन्द गरिएको समेत कोइरालाले जानकारी दिएका छन् । दुई वर्ष अघिबाट सेवा सुरु गरेको कम्पनीले हाल डिजिटलरुपमा रेमिट्यान्स सेवा उपलब्ध गराउँदै आएको छ ।


https://unelma.io/FExrU