ई–सेवा मनी ट्रान्सफरले आन्तरिक रेमिट्यान्स (विप्रेषण) को कारोबार बन्द गरेको छ । आइतबारबाट लागू हुने गरी कम्पनीले आफ्नो सिस्टमबाट आन्तरिक रेमिट्यान्स हटाएको हो । आफ्नो कार्यक्षेत्र नै देशबाहिरबाट विदेशी मुद्रा स्वदेश भित्र्याउनु रहेको भन्दै आन्तरिक रेमिट्यान्स कारोबारलाई बन्द गरेको कम्पनीले जनाएको छ ।
‘‘हामीले आजैबाट लागू हुने गरी आन्तरिक रेमिट्यान्स कारोबार बन्द गरेका छौं,’’ ई–सेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले टेकपानासँग भने, ‘यो विषयमा हामीले यसअघि नै राष्ट्र बैंकलाई जानकारी गराएका थियौं । राष्ट्र बैंकले पनि हाम्रो यो निर्णयलाई स्वागत गरेको छ ।’’
यसअघि राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीले विदेशबाट रेमिट्यान्समा विदेशी मुद्रा प्राप्त गर्ने कार्य मात्र गर्न पाउने व्यवस्थाको पालना गर्नू भनी निर्देशन समेत दिएको थियो । उक्त निर्देशन पालना गर्नु पर्ने हाम्रो दायित्व भएकाले यसको सुरुवात गरिएको कोइरालाले बताए । ‘‘यो खालको कदम हामी मध्ये कसैले लिनै पर्ने थियो,’’ उनले भने, ‘ ई–सेवा मनी ट्रान्सफर त्यसमा पहिलो भएको छ ।’’