सामाजिक सञ्जाल अहिले सूचना र समाचारकाे प्राथमिक स्राेत बनेकाे छ । परम्परागत सञ्चार माध्यमभन्दा सहज र बहुउपयाेगी भएकाले प्रयाेगकर्ताहरू त्यसमा भर परेका हुन् । सहज र उपयाेगी हुँदाहुँदै यसकाे अर्काे पाटाे पनि छ । सामाजिक सञ्जालले अर्ध सत्य र झूटलाई छिटो फैलिन मद्दत समेत गर्छ। 

सामाजिक सञ्जालले इन्गेजमेन्ट अर्थात् लाइक, फलो, कमेन्ट र सेयरलाई प्राथमिकता दिन्छ । यस हाेडबाजीमा अघि पर्नका लागि प्रयाेगकर्ताहरूले अनेक उपाय लगाउँछन् । कसरी आफू फरक र माैलिक देखिने र भाइरल हुने भन्ने ध्याउन्नले गर्दा अहिले सामाजिक सञ्जाल मिथ्या सूचना फैलाउने साधन बनेको छ ।

 

कैयौं मिथ्या सूचना मानिसलाई दिग्भ्रमित पारी कसैकाे फाइदाका लागि फैलाइएका हुन्छन् भने केहीकाे उद्देश्य लाइक पाउने र फलोअर बढाउने हुन्छ। सामाजिक सञ्जालमा भेटिने कैयौं पोस्ट मिथ्या सूचना भनी खुट्याउन सकिने खालका हुन्छन् । तर पनि ती बारम्बार तपाईंकाे फिड वा टाइमलाइनमा आइपुग्छन् । किन त ?

यसैबीच फ्याक्ट चेकिङ प्लेटफर्म नेपाल चेकले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जाेडिएका केही भिडिओ सामग्रीकाे विश्लेषण गरेकाे छ ।

कस्तो मिथ्या सूचना ?

@hamroaawaj17 नामक एक टिकटक प्रयोगकर्ताले गत पुस १६ गते सेयर गरेको भिडिओमा लेखिएको छ, “भरखरै रवि लामिछानेले अमेरिका फोन गरी MCC खारेज” । १० सेकेन्डकाे उक्त क्लिप ३ लाखभन्दा बढी पटक हेरिएकाे छ ।

उक्त भिडिओमा अंग्रेजी भाषाको अडियो क्लिप छ भने युट्युब च्यानलमा सत्यतथ्य समाचार भन्ने दाबीका साथ “रवि लामिछानेको सपोर्टका” लागि एक युट्युब च्यानल सब्स्क्राइब गर्न भनिएको छ।  सो टिकटकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र काठमाडाैं महानगरका मेयर बालेन शाहका नाममा राखिएका भिडियोहरू लाखौं पटक हेरिएका छन् । हरेक भिडियोमा ‘KASHIDADA’ नामक युट्युब च्यानल सब्स्क्राइब गर्न भनिएको छ।

नेपाल चेकले सो टिकटकमा उल्लेख गरिएका युट्युब च्यानलकाे खोजी गर्‍यो । KASHIDADA Entertainment लेखिएको युट्युब च्यानलका झन्डै ४ हजार सब्स्क्राइबर छन् भने कुल ९६ हजारभन्दा बढी पटक भिडियोहरू हेरिएको छ । उक्त च्यानलमा  मिथ्या सूचना फैलाउने कैयौें भिडिओहरू भेटिए ।

खोज्दै जाँदा अर्को टिकटक भेटियो । @dilliprasadgautam0 नामक प्रयोगकर्ताले पाेस्ट गरेको भिडिओमा गृहमन्त्री लामिछाने कञ्चनपुरकी किशाेरी निर्मला पन्तको हत्यारा नजिक पुगेको, लामिछाने कञ्चनपुर गएको दाबी गरिएको छ । उक्त भिडिओ अहिलेसम्म ५ लाख पटक हेरिएकाे छ भने १६ हजार ५ सय जनाले लाइक गरेका छन् । 

के यी सूचना सही हुन् ?

चर्चित टेलिभिजन प्रस्ताेता तथा सञ्चारकर्मी रवि लामिछाने हालै सम्पन्न निर्वाचनमा चितवनबाट निर्वाचित भएका हुन् । सातदलीय गठबन्धन सरकारमा उनी आफ्नाे दल नेपाल स्वतन्त्र पार्टीकाे प्रतिनिधित्व गर्दै नेपालको उपप्रधान तथा गृहमन्त्री नियुक्त भएका हुन् । लामिछानेले गृहमन्त्रीका रूपमा पहिलो निर्णयमा निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने बताएका थिए । तर लामिछाने गृहमन्त्रीका रूपमा कञ्चनपुर गएका छैनन् । 

यसै गरी अमेरिका नै फोन गरेर रवि लामिछानेले मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) खारेज गरेकाे माथि उल्लिखित दाबीमा पनि सत्यता छैन । एमसीसी कम्प्याक्टकाे धारा ५ मा साे सम्झाैता खारेज गर्न सक्ने प्रावधान छ । तर त्यसमा गृहमन्त्रीले उक्त सम्झाैता खारेज गर्नसक्ने भन्ने प्रावधान छैन ।

उक्त भिडियोमा प्रयोग गरिएको छोटो अंग्रेजी आवाज नेपालले एमसीसीमा हस्ताक्षर गर्दाको कार्यक्रममा एमसीसीका प्रमुख कार्यकारी जोनाथन नासले बोलेको पाइएको छ। सो कार्यक्रम २०७४ साल भाद्र २९ गते संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीमा भएको थियो।

नेपाल चेकले युट्युबमा “रवि लामिछाने र निर्मला पन्त” शब्द राखेर खोजी गर्दा ब्यानर सहितका सनसनीखेज शीर्षक राखिएका भिडिओ भेटिए । रवि लामिछानेका ’boutमा खोजी गर्दा मिथ्या सूचना भएका हजारौं पटक हेरिएका भिडिओहरू फेला परे । जस्तो : “रवि लामिछाने निर्मलाको हत्यारा नजिक”, “निर्मलाको हत्यारा नजिक रवि लामिछाने २ जना समातिए”। 

यी प्रतिनिधि सामग्री मात्रै हुन् । धरानका मेयर हर्क साम्पाङ र काठमाडाैंका मेयर शाहका नाममा पनि यस्ता कैयौं भिडिओहरू युट्युब र टिकटकमा भेटिएका छन् । यस्ता सामग्री हेर्ने आम प्रयोगकर्ता मिथ्या सूचनाको सिकार हुन सक्छन् ।

किन फैलाइन्छ मिथ्या सूचना ?

केही उदाहरण हेराैं । “भर्खरै गृहमन्त्रीले भ्रष्टाचारीलाई रंगेहात समाए” , “नसोचेको घटना भयो” । यस्ता शीर्षक राखी पाेस्ट गरिने भिडियोकाे उद्देश्य भ्युज बढाउने देखिन्छ । यस्ता क्लिकबाट (हेर्दै क्लिक गर्न मन लाग्ने) हेडलाइन र ब्यानरले गर्दा भ्युज बढ्ने भएकाले मिथ्या सूचना सहितका सामग्री खासगरी भिडिओमार्फत फैलाइन्छ। मिथ्या सूचना हो भनी छुट्याउन मिल्ने भए पनि यस्ता भिडियो बनाउनेहरूले यसलाई गम्भीरतापूर्वक लिएकाे देखिँदैन ।

यसरी मिथ्या सूचना व्यापक फैलिनुका मुख्य दुई कारण हुन्छन्ः

-जति सकिन्छ धेरै लाइक, कमेन्ट र भ्युज बनाउनका लागि ।

-युट्युब र फेसबुकमा भिडियोसँगै देखाइने प्रचार सामग्रीबाट पाइने रकमको केही हिस्सा भिडियो राख्ने व्यक्तिले समेत पाउने भएकाले । 

सामाजिक सञ्जाल विशेष गरी युट्युबमा पैसा कमाउने उद्देश्यले भिडियो काटछाँट गरी सन्दर्भ हटाएर सनसनी फैलाउन प्रयाेग गरिएको पाइन्छ । केही यस्ता भिडियो हजारौं पटक हेरिएका छन् भने त्यस्ता च्यानलका सब्स्क्राइबरकाे संख्या लाखौंमा छ । 

सामाजिक सञ्जाल प्रयाेगकर्ताले यस्ता भिडियोहरूमा प्रतिक्रिया स्वरूप लाइक, कमेन्ट र सेयर गर्छन् । यसरी भिडियोमा दिइने हरेक प्रतिक्रियाले भिडियोलाई धेरै जनासामु पुग्न मद्दत गरिरहेको हुन्छ । त्यस्ता प्रतिक्रिया सकारात्मक हुन् वा नकारात्मक, सामाजिक सञ्जालकाे प्रविधिले त्यसलाई अझ व्यापक बनाउने गर्छ।

कसरी रोक्न सकिन्छ यस्ता मिथ्या सूचना ?

माथि उद्धृत गरिएका मात्र होइन, कुनै पनि किसिमको मिथ्या सूचना नफैलाउन र त्यसलाई राेक्न प्रयाेगकर्ता आफैं सजग हुनुपर्छ। सामाजिक सञ्जालमा तुरुन्तै प्रतिक्रिया जानाइहाल्नुभन्दा फोटो, भिडिओकाे समीक्षा गरेर मात्र प्रतिक्रिया जनाउनु उपयुक्त हुन्छ ।

सामाजिक सञ्जालमा सेयर गरिने दाबी तुरुन्तै पत्याइहाल्नुकाे साटाे साे सूचना कसले दिएको हो ? सो सूचना दिने व्यक्ति आधिकारिक हो वा होइन भनी प्रश्न गर्नु र सूचनाकाे स्राेत पत्ता लगाउनुपर्छ । अनलाइन मिडियामा प्रकाशित सूचना वा समाचारकाे हकमा सो मिडिया प्रेस काउन्सिलमा दर्ता भएको छ/छैन भनी हेर्नुपर्छ । प्रेस काउन्सिलमा दर्ता भएको मिडियाले दर्ता नम्बर देखिने गरी प्रकाशित गरेका हुन्छन् । 

सूचना कुनै व्यक्तिविशेषले दिएको हो भने, सो व्यक्तिको आधिकारिकता सम्बन्धी जानकारी लिएपछि मात्रै सूचना अरूलाई सेयर गर्नु  उपयुक्त हुन्छ। समाजिक सञ्जालमा फैलिएका सूचनाको स्राेत र तिनकाे विश्वसनीयता जाँच्नुपर्छ। कतिपय अवस्थामा फरक सन्दर्भमा प्रकाशित सूचना वा सामग्रीलाई सन्दर्भ हटाई भ्रम फैलाउन प्रयोग हुने भएकाले सूचनाको सन्दर्भ वा पृष्ठभूमि के थियाे भन्ने बुझ्नु जरुरी छ । यस्ता विषयमाथि पहिले नै तथ्यजाँच भए/नभएको तथ्य जाँचकी संस्थाको बेबसाइटमा हेरेर समेत पत्ता लागाउन सकिन्छ ।

सामाजिक सञ्जालको विस्तारसँगै मिथ्या सूचना र यसका किसिममा समेत उल्लेख्य वृद्धि भएको छ । एक तथ्य जाँचकीले सही सूचनाको जानकारी दिने बेलासम्म मिथ्या सूचना धेरै जनासम्म फैलिसकेको हुन्छ । युट्युब, टिकटक जस्ता भिडियो प्रधान सामाजिक सञ्जालमा पैसा कमाउनका लागि भाइरल हुन अनेक मिथ्या सूचनाको सहारा लिएको पाइन्छ । केवल १५ सेकेन्डको एक भिडियोमा सही सूचना लुकाई मिथ्या सूचनालाई फैलाइएको हुनसक्छ । तसर्थ प्रयाेगकर्ता सचेत भई यस्ता फोटो/भिडिओमा प्रतिक्रिया जनाउनुअघि त्यसमा उल्लिखित सूचना सम्बन्धी सम्पूर्ण जानकारी लिएपछि मात्र कदम चाल्नु उपयुक्त हुन्छ ।

https://u16p.com/bc7fusarc4