मंगलबारसम्म बैंकका उपभोक्ताले आफूले सेवा लिइरहेको भन्दा फरक बैंकको एटीएमबाट महिनाको २ पटकसम्म पैसा निकाल्दा शुल्क तिर्न पर्दैन थियो । तर, मंगलबार नेपाल राष्ट्र बैंकले यो व्यवस्था हटाउँदै बैंकका सेवाग्राहीहरुले पाउँदै आएको सुविधा खोसिदियो ।

नेपाल राष्ट्र बैंकले कोभिडको बेलामा दिएको अन्तरबैंक एटीएम प्रयोग गर्दा २ वटा कारोबारसम्म शुल्क नलाग्ने व्यवस्था गरेको थियो । राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले भुक्तानी प्रणाली सम्बन्धी एकिकृत निर्देशन जारी गर्दै अन्तर बैंक एटीएम प्रयोग गर्दा २ पटकसम्म शुल्क नलाग्ने व्यवस्था हटाएपछि बैंकका सेवाग्राहीहरुले राष्ट्र बैंकको आलोचना गरेका छन् ।

बैंकहरुले अन्तर बैंक एटीएम प्रयोग गर्दा प्रतिकारोबार २० रुपैयाँसम्म शुल्क लिने गरेकोमा अब १५ रुपैयाँ मात्रै लाग्ने व्यवस्था गरेको छ । ग्राहकले २ वटा कारोबार निःशुल्क पाउने व्यवस्था हटाएर ग्राहकले पाएको सेवा कटौती गर्दै बैंकहरुलाई आम्दानी बढाउन राष्ट्र बैंक नै लागेको आरोप बैंकिङ सेवाका प्रयोगकर्ताले लगाइरहेरहका छन् ।

विद्युतीय कारोबारलाई प्रोत्साहन गर्ने नीति लिएको केन्द्रीय बैंकले अन्तर बैंक एटीएममा २ वटासम्म कारोबार शुल्क नलाग्ने नीति नै हटाउनु गलत भएको भन्दै विभिन्न माध्यमबाट त्यसको आलोचना भइरहेको छ ।
https://unelma.io/47AAo