पाकिस्तान दूरसञ्चार प्राधिकरण (पीटीए)ले विकिपिडियामाथि प्रतिबन्ध लगाएको छ । कम्पनीले अमर्यादित तथा अपवित्र मानिने सामग्री हटाउन नसकेको भन्दै पाकिस्तानको नियामकले विकिपिडियामाथि प्रतिबन्ध लगाएको हो । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यम ब्लुमबर्गसँग बोल्दै दूरसञ्चार प्राधिकरणका प्रवक्ता मालहात ओबेडले (Malahat Obaid) ४८ घन्टाभित्र त्यस्ता सामग्री हटाउने निर्देशन दिँदा पनि नहटाएको पाइएपछि ब्लक गरेको बताएका छन् ।

दूरसञ्चार प्राधिकरणले अदालतबाट फेब्रुअरी १ मा नै वेबसाइटबाट "निन्दनीय" सामग्री हटाउने आदेश लिँदै विकिपिडियालाई सम्पर्क गरेको थियो । 

विकिपिडियाले उक्त निर्देशन पालना नगरेपछि प्राधिकरणले केही दिनका लागि विकिपिडियालाई ब्लक गरेको हो । आफ्ना मागहरू पूरा नगरेमा विकिपिडियालाई पूर्ण रूपमा प्रतिबन्ध गर्ने चेतावनी समेत प्राधिकरणले दिएको छ । कुन प्रकारका सामग्रीलाई प्राधिकरणले अपवित्र वा निन्दनीय भनेको हो भन्ने चाहिँ स्पष्ट रूपमा खुलाइएको छैन । 

एक ट्वीट गर्दै प्राधिकरणले विकिपिडिया प्रतिबन्ध गरेको विषयमा जानकारी दिएको हो ।

डिजिटल प्लेटफर्ममा भेटिने सामग्रीलाई यसअघि पनि प्राधिकरणले नियन्त्रण गर्ने प्रयास गरेको थियो । टेक क्रन्चका अनुसार सन् २०२० मा प्राधिकरणले टिकटकमाथि पनि केही समयका लागि प्रतिबन्ध गराएको थियो ।

यसबारे विकिमिडिया फाउन्डेसनले पनि आफ्नो ब्लगपोस्ट मार्फत पाकिस्तानले विकिपिडियालाई ब्लक गरेको पुस्टि गरेको छ । 

विकिपिडियाका अनुसार प्रति महिना सो साइटमा पाकिस्तानबाट पाँच करोडभन्दा बढी ट्राफिक आउने गरेको थियो |

https://u16p.com/pjqktn70nl