पछिल्लो २० वर्षमा गुगल इन्टरनेट सर्चिङको राजा नै बनेको छ । कैयन् कम्पनीले गुगललाई टक्कर दिने प्रयास गरे । तर उनीहरू नै अन्तिममा विस्थापित हुने अवस्था आयो । गुगल यो क्षेत्रमा जति शक्तिशाली छ, त्यति अरू कोही कहिल्यै हुँदैन भन्ने भ्रम भइसकेको थियो । यसले गर्दा गुगललाई उक्त क्षेत्रबाट हटाउने कल्पना सायदैले गरेको थिए ।

तर, यसपटक भने गुगललाई टक्कर दिन एउटा कम्पनी मैदानमा आइसकेको छ । यो अरू कोही नभएर 'च्याटजीपीटी' (एआईमा आधारित च्याटबट) हो । यस टुलका कारण गुगललाई मात्र नभई कैयौं उद्योगलाई आर्टिफिसियल इन्टेलिजेन्सका कारण आफ्नो अस्तित्व धरापमा पर्ने जोखिम बढेको छ । आखिर दुई महिनाअघि मात्र सार्वजनिक भएको च्याटजीपीटीका कारण गुगल सर्चलाई किन विस्थापित हुने डर बढिरहेको छ त ?

एक्काइसौं शताब्दीका महान वैज्ञानिक स्टेफन हकिङले एआई मानव जीवनका लागि खतरनाक सूचक भएको भविष्यवाणी गरेका थिए । उनका अनुसार अब आउने समयमा आर्टिफिसियल इन्टेलिजेन्स यति अत्याधुनिक हुनेछन् कि, उसका अघि मानव बुद्धिमता बच्चाको खेल हुनेछ । उनको भनाइको तात्पर्य यो थियो कि, मानव जीवनमा रोबोट हाबी बन्नेछ । अहिले उनैको त्यो भनाइ सत्य हुँदै गएको छ ।

सन् १९९८ मा क्यालिफाेर्नियाकाे एउटा घरको सानो कोठामा पहिलो पटक गुगल सार्वजनिक भएको थियो । यति सानो बलबाट सुरु भएको कम्पनीले दशकौंसम्म इन्टरनेटको दुनियामा राज गर्नुको कारण के होला ? त्यसको एक मात्र कारण हो गुगलले छिटो र सही जवाफ दिन सक्नु । संसारभर हरेक दिन जति सर्च हुने गर्छन्, त्यसमध्ये ९० प्रतिशत सर्च गुगलमै हुन्छ ।

फिल्म रिभ्यु, मौसमको बारेमा थाहा पाउन होस्, कुनै रिसर्च पेपर खोज्न होस्, कुनै नयाँ कुराबारे खोज्नका लागि नै किन नहोस् मानिसहरू गुगलमै निर्भर छन् । यसो त जिमेल, युट्युब जस्ता प्लेटफर्म पनि गुगलका आम्दानी हुने मुख्य प्लेटफर्म नै हुन् । तर, यी प्लेटफर्ममध्ये गुगलले सर्च इन्जिनबाट कुल आम्दानीको ६१ प्रतिशत अर्थात् ९८.१ अर्ब डलर आम्दानी गर्छ ।

त्यस्तै युट्युबबाट ९ प्रतिशत, जिमेलको नेटवर्क मेम्बरबाट १३ प्रतिशत, क्लाउडबाट ६ प्रतिशत, प्लेस्टोरबाट ११ प्रतिशत र बाँकी अन्य प्लेटफर्मबाट आम्दानी गर्छ । आज कम्पनीको कुल शेयर मूल्य १.२२२ खर्ब डलर बढी रहेको छ । तर, अहिले गुगललाई यति असुरक्षित महसुस हुन थालेको छ कि उनीहरूले आन्तरिक 'रेड कोड' नै जारी गर्नुपर्ने अवस्था आयो ।

'रेड कोड' जारी गर्नुलाई विभिन्न अर्थमा हेर्न सकिन्छ । यस सन्दर्भमा भने रेड कोडको अर्थ हुन्छ कम्पनीले आफ्नो प्रमुख प्राथमिकताको परियोजना अघि सार्नु । वा, बजारमा प्रवेश गरेको प्रतिद्वन्द्वीबाट आफूलाई सजग बनाउनु । सोही परियोजना अनुरूप गुगलले गत सोमबार नै 'बार्ड' नामको एआई च्याटबटको घोषणा गरेको थियो । बुधबार आयोजित एआई सर्च लाइभ इभेन्टमा गुगलको उक्त च्याटबटले गलत जवाफ दिँदा कम्पनीलाई एकै दिनमा १०० अर्ब डलर घाटा लागेको थियो ।

च्याटजीपीटीको प्रतिस्पर्धाका लागि ल्याइएका परियोजना यसरी असफल हुँदा कम्पनीलाई ठूलो झट्का लागेको छ । च्याटजीपीटी एउटा एआईमा आधारित च्याटबट हो । जो मानिसकै शैलीमा तपाईँ हामीसँग टेक्स्टमा कुरा गर्न सक्छ । च्याटजीपीटीलाई जस्तोसुकै प्रश्नको सोधे पनि त्यसका उत्तर सहजै दिन्छ । तर, यो काम गुगलले पनि गरिरहेको नै थियो । तर, यतिका लोकप्रियता र चर्चाका बाबजुद पनि यतिमै गुगललाई विस्थापित हुने डर किन ?

च्याटजीपीटीले सहज, सटीक र छिटो जवाफ दिनु नै गुगलको लोकप्रियतामाथि कमी आउनुको प्रमुख कारण हो । यदि हामीले केही कुरा खोज्नु पर्‍यो भने गुगलमा सहजै उत्तर भेटाउन सक्दैनौं । त्यसका लागि हामीले थुप्रै लिङ्क पछ्याएर वेबसाइट भिजिट गर्नुपर्ने हुन्छ । यो अवधिमा हाम्रो समय पनि खर्च भइरहेको हुन्छ भने खोजे अनुसारको उत्तर नभेट्टाउँदा त्यसले झनै निराश बनाउँछ । तर, यो च्याटबटले क्षणभरमै विभिन्न जटिल प्रश्नका उत्तरहरू उपलब्ध गराउँछ ।

यो च्याटबटमा केही आफ्नै सीमितता र कमजोरी छन् । त्यसबाहेक यो टुल धेरै विषयमा पूर्ण छ भन्दा फरक नपर्ला । प्रोग्रामिङका लागि कोड जाँच गर्नुपर्ने होस्, वा थेसिसका लागि प्रपोजल लेख्दा होस्, भौतिक शास्त्रका जटिल इक्वेसन समाधान गर्न होस् वा रसायनिक शास्त्रका जटिल रसायनिक प्रतिक्रियाबारे जान्न होस्, मेडिकल क्षेत्रमा खोज तथा अनुसन्धान गर्न होस् वा इन्जिनियरिङ क्षेत्रमा नयाँपन ल्याउन होस् हरेक क्षेत्रका मानिसहरूले यो टुलको प्रयोग गरिरहेका छन् ।

यस टुलको प्रमुख विशेषता त के छ भने यसले कतिपय कुरामा आन्तरिक बुद्धिमता पनि प्रयोग गरेको पाइएको छ । यस्ता सुविधा अन्य कुनै प्लेटफर्मबाट पाइने भए सायद त्यस्ता प्लेटफर्म धेरै पहिले नै चर्चामा आइसक्थे । च्याटजीपीटीलाई एउटा उच्च योज्ञता भएको शिक्षक हो भन्दा फरक नपर्ला । च्याटजीपीटीले संसारका जटिलभन्दा जटिल जाँच सहजै उत्तीर्ण गरेको छ ।

अमेरिकाको मेडिकल लाइसेन्सिङ एक्जाम, बार एक्जाम र एमबीए जस्ता जटिल कोर्स सहजै उत्तीर्ण गरेको छ । च्याटजीपीटीका यी र यस्तै विशेषताका कारण रातारात चर्चामा आएको छ । रोयटर्सका अनुसार यस प्लेटफर्मले दुई महिनाको अवधिमा १० करोड सक्रिय प्रयोगकर्ताको आँकडा पार गरिसकेको छ । यो त्यो प्रयोगकर्ता सङ्ख्या हो जसलाई भेट्टाउन टिकटकले नौ महिना, इन्स्टाग्रामले ३० महिना र गुगल ट्रान्सलेटले ७० महिनाभन्दा बढी समय लगाएको थियो ।

गुगलको आम्दानीको मुख्य स्रोत गुगल सर्च हुनु र त्यसैको प्रतिद्वन्द्वीका रूपमा च्याटजीपीटीको उदय हुनु कम्पनीका लागि एउटा खतराको संकेत हो । तर, यो मात्र गुगलको टाउको दुखाइको विषय थिएन । गुगल, च्याटजीपीटीलाई बनाउने कम्पनीलाई लिएर चिन्तित छ । यसलाई वास्तवमा ओपन एआईले निर्माण गरेको भए पनि उक्त कम्पनीका पछाडि माइक्रोसफ्टको हात रहेको छ । माइक्रोसफ्ट त्यही कम्पनी हो जसले लामोसमयदेखि गुगल सर्च जस्तै सर्च इन्जिन 'बिङ' सञ्चालनमा ल्याइरहेको छ ।

विभिन्न रिपोर्टका अनुसार सन् २०१९ मा माइक्रोसफ्टले ओपनएआईमा एक अर्ब डलर लगानी गरेको थियो । त्यही समयदेखि माइक्रोसफ्ट र ओपन एआई एक आपसमा मिलेर काम गरिरहेका छन् । यसअघि माइक्रोसफ्ट र ओपन एआईले ड्यालई नामको एआई टुलमा पनि काम गरिसकेका छन् । यो त्यस्तो टुल हो जसले टेक्स्ट राखेकै भरमा एआईको सहयोगले फोटो तयार पार्न सकिन्छ ।

च्याटजीपीटी र ड्यालईको सफलतापछि माइक्रोसफ्टले यी प्लेटफर्मलाई आफ्नो सिस्टममा इन्ट्रिगेट गर्ने योजना बनाइसकेको छ । कम्पनीले मंगलबार च्याटजीपीटी बिङमा पनि समावेश गरिसकेको छ । तर, यो प्रयोग गर्नका लागि भने केही समय पर्खिनु पर्ने हुन्छ ।

यही कुरा गुगलका लागि खतराको संकेत बनेको छ । जुन प्लेटफर्मले सहजै प्रयोगकर्ताको आवश्यकता पुरा गर्न सक्छन् त्यही प्लेटफर्म सबैको रोजाइमा पर्छन् । यसको उदाहरण गुगल आफैसँग छ । गुगलको सामाजिक सञ्जाल अर्कट (Orkut) लाई फेसबुकले विस्थापित गरेको थियो । अब गुगललाई आफ्नो सर्च इन्जिन बिजनेस मोडेल बचाउन छ भने उनीहरूले छिट्टै नै नयाँ रणनीति अपनाउनु पर्छ ।

गुगलले आफ्नो च्याटबट 'बार्ड' च्याटजीपीटीको तुलनामा अत्याधुनिक र उत्कृष्ट भएको दाबी गरेको थियो । तर, उक्त टुलले कम्पनीलाई सुरुवातमै असफलताको नमिठो स्वाद चखाएको छ । विभिन्न प्रविधि कम्पनी एआईमै केन्द्रित हुनुले संसारमा एआई युद्ध सुरु भएको जनाउ दिएको छ । यस्ता च्याटबट हामीले दिएको सूचनालाई प्रवाह गर्ने भन्दा पनि आफैभित्र सोच्ने क्षमताका कारण थप डर सिर्जना गरेको छ । जसरी मानिस आफ्नो गल्ती तथा अनुभवबाट सिक्छ ।

च्याटबट पनि आफ्ना कमजोरीबाट सिक्ने विज्ञहरूको दाबी छ । त्यस्तै एआई तथा रोबोटिक्स यसरी नै परिष्कृत हुँदै जाने हो भने उनीहरूमा भावना सिर्जना नहोला भन्न सकिँदैन । यदि यस्तो भयो भने संसारका लागि नै यस्ता टुल खतरनाक साबित हुन सक्छन् । जसरी हामीले यस्ता च्याटबटको फाइदा उठाइरहेका छौं । हामीलाई घाटा पनि उत्तिकै सामना गर्नुपर्ने अवस्था आउन सक्छ । विशेषगरी लेखक, प्रोग्रामर तथा कल सेन्टर उद्योग नै धरापमा पर्न सक्छन् ।

यो भन्नुको अर्थ च्याटबटले विस्थापित गर्छन् भन्ने नै त होइन । तर, त्यस क्षेत्रका मानिसले आफूलाई समय अनुसार परिष्कृत बनाउन सकेनन् भने विस्थापित हुने अवस्था नआउला भन्न सकिँदैन । 

सामाजिक सञ्जाल र इन्टरनेटका कारण कैयौं मानिसहरू आफ्नो दिमागलाई धेरै प्रयोग गर्दैनन् । यो प्रवृत्ति सधैं यस्तै रहिरहने हो भने हामी पूर्ण रूपमा त्यसैमा निर्भर हुनुपर्ने अवस्था आउन सक्ने वैज्ञानिकको अड्कल छ ।  

(स्रोतः रोयटर्स, जेमटीभी, बीबीसी, सीएनडीसी)

https://u16p.com/ocoprhcaxz