कनेक्ट आईपीएसको नाममा नक्कली फेसबुक पेज बनाइ स्क्याम लिङ्क (ठगी गर्ने मनसायले फैलाइने लिङ्क) फैलाएको पाइएको छ । 'कनेक्ट आईपीएस नेपाल' नामको उक्त नक्कली पेज आइतबारदेखि सक्रिय भएको हो । 

उक्त पेजबाट कनेक्ट आईपीएसको आधिकारिक डेस्कटप एप इन्स्टल गर्नको लागि अनुरोध गरिएको छ । सो पोस्टलाई बुस्ट गरेर धेरै मानिस समक्ष पुर्‍याउने प्रयास गरिएको छ ।  

अर्थात् पैसा तिरेर नै उक्त पोस्टलाई हरेक फेसबुक प्रयोगकर्ताको फिडमा पुर्‍याउने प्रयास गरिएको छ । उक्त पोस्टमा तपाईँले क्लिक गर्नुभएपछि तपाईँको म्यासेन्जरमा 'डाउनलोड न्यु डेस्कटप भर्सन अफ कनेक्ट आईपीएस' भन्ने मेसेज आउँछ । सो मेसेजमा रिप्लाई गर्‍यो भने एउटा लिङ्क र पासवर्ड उपलब्ध हुन्छ ।

तर यो पोस्ट र पेज दुवै नक्कली हो । सो लिङ्कमा क्लिक गरेपछि प्रयोगकर्ताको व्यक्तिगत विवरणमा सहजै पहुँच बनाउन सक्छन् । 

यस्ता प्रकृतिका ठगी नौलो नभएको साइबर सुरक्षाका जानकार निर्मल दाहाल बताउँछन् । "यस्तो किसिमको स्क्याम गत वर्षदेखि नै धेरै भइरहेको छ," टेकपानासँग कुरा गर्दै दाहालले भने, "स्टक ट्रेडिङ नेपाल, कनेक्ट आईपीएस जस्ता कम्पनीको नाममा लिङ्क फैलाइएको देखिन्छ ।"

यस्ता लिङ्कमा क्लिक गरेर डाउनलोड गर्न लगाइ उनीहरूले आफूले उपलब्ध गराएको पासवर्ड राख्न अनुरोध गर्छन् । यसरी इन्स्टल गरेर पासवर्ड राखिसकेपछि त्यसले साइटको कुकिज तथा सेभ भएका पासवर्ड कब्जा गर्ने उनको भनाइ छ । यही स्क्याम लिङ्कबारे अहिले विश्लेषण भइरहेको उनले बताएका छन् ।

यसबारे कनेक्ट आईपीएसले त्यस्ता लिङ्कको आन्तरिक परीक्षण गरिरहेको जानकारी दिएको छ । साथै कम्पनीले सामाजिक सञ्जालमा आफ्नो आधिकारिक पेज मात्र फलो गर्न अनुरोध गरेको छ ।

https://u16p.com/svfqnstsdr