राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा समेत विद्युतीय मतदान उपकरण (इलेक्ट्रोनिक भोटिङ मेसिन ‘इभीएम’)को प्रयोग नहुने भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा थोरै सङ्ख्यामा मतदाता रहने हुँदा इभीएमको प्रयोग गर्न सकिने सम्भावना थियो । 

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन २०७९ मा इभीएमको प्रयोगबारे राखिएको जिज्ञासामा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यो पटकको निर्वाचनमा ईभीएम प्रयोग नहुने बताएको गोरखापत्रमा प्रकाशित लेखमा उल्लेख छ । 

“पुरानो उपकरण काम लाग्ने अवस्थामा छैन, नेपालीले बनाएको प्रमाणीकरण भएको छैन, नयाँ खरिद गरेर प्रयोग गर्ने सम्भावना देखिन्न,” थपलियाले बताए । राष्ट्रपतिको निर्वाचन फागुन २५ गते र उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुँदै छ । 

गत वैशाख ३१ मा सम्पन्न स्थानीय तह निर्वाचन र मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा आयोगले इभीएमको प्रयोगको सम्भाव्यताबारे अध्ययन समेत गरेको थियो । 

यद्यपि सम्भाव्यता अध्ययनका लागि गठन गरिएको समितिले कानुनी अड्चन रहेको जनाएपछि स्थानीय र प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा इभीएम प्रयोगको सम्भावना सकिएको थियो । 

गोरखापत्रमा प्रकाशित लेखका अनुसार राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा ८३१ मतदाता छन् । मतदान स्थलसमेत एउटै निर्धारण गरिएको छ । सीमित सङ्ख्यामा मतदाता रहने र एकै स्थानमा दुईवटा मतदान केन्द्र रहने हुँदा इभीएमको प्रयोग सम्भव देखिएको थियो । 

मत बदर नहुने, मतदान र गणना प्रक्रिया छिटोछरितो हुने हुनाले इभीएम खरिद महँगो भए पनि प्रयोग सहज हुन्छ । 

https://u16p.com/gjorar4oa5