किस्ता उठाउन गएका एनआईसी एशिया लघुवित्तका कर्मचारीमाथि भएको दुव्र्यवहारप्रति लघुवित्त बैंकर्स संघले आपत्ति जनाएको छ । मंगलबार ऋणको किस्ता उठाउन गएका बेला लघुवित्तको जाजरकोट शाखामा कार्यरत गोपालप्रसाद उपाध्यायलाई विप्लवका कार्यकर्ताले कालोमोसो दलेको घटनाप्रति संघले आपत्ति जनाएको हो ।

मंगलबार नियमित कार्य सम्पादनका क्रममा विप्लवका कार्यकर्ताले उपाध्यायमाथि कुटपिटसहित कालोमोसोसमेत दलेका थिए । दैनिक जिम्मेवारी निभाउन डिउटीमा खटिएको कर्मचारीलाई कालोमोसो दलेर अभद्र व्यवहार गर्नू अमानवीय र अराजकताको पराकाष्टा भएको संघले ठहर गरेको छ । संघका अनुसार जाजरकोटमा भएको उक्त घटनामा लघुवित्तका कर्मचारीलाई कुटपिटसँगै अभद्र व्यवहार गर्नेले साथमा भएको रकम समेत लुटेर लगेका छन् । सो घटना अत्यन्तै निन्दनीय भएको भन्दै यस्तो हर्कत गर्नेलाई कार्वाही गर्न पनि संघले माग गरेको छ ।

त्यस्तै, संघले लघुवित्तका कर्मचारीले घरघरमा पुगेर वित्तीय पहुँच पुर्याउन योगदान दिने गरेको बताउँदै थप सुरक्षा दिनुपर्नेमा उल्टै गैरमानवीय गतिविधि गरेर निरुत्साहित गर्न खाजेको भन्दै घटनाको घोर भत्सर्नासमेत गरेको छ । ‘जनमानसमा नकारात्मक प्रभाव पार्ने, देशमा अराजकतालाई बढवा दिने, आर्थिक अस्थिरता निम्त्याउने र देशको अर्थतन्त्र नै दुर्घटनाग्रस्त हुने सम्भावना हुँदा यस्ता गतिविधि तत्काल बन्द गरी शान्तिपूर्ण काम गर्ने वातावरण सिर्जना गर्न सम्बन्धित सबै पक्षसँग अपिल गर्दछौं ।’- संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

हाल सो घटनामा संलग्न भनिएका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ४ जना कार्यकर्तालाई प्रहरीले पक्राउ समेत गरिसकेको छ । उनीहरुविरुद्ध थप अनुसन्धानसमेत सुरु गरेको प्रहरीले जनाएको छ ।

https://u16p.com/x4v9xhxm5d