बैंकको चर्को ब्याजको विरोध गर्दै व्यवसायीहरुले ‘नो डिपोजिट’ अभियान नै सुरु गरेका छन् । ७ प्रतिशतमा लिएको कर्जाको ब्याज १७ प्रतिशतसम्म पुर्याएर व्यवसायीलाई सास्ती दिएको भन्दै कैलाली उद्योग वाणिज्य संघले ‘नो डिपोजिट’ अभियान सुरु गरेको हो ।

बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरको विरोधमा कैलाली उद्योग वाणिज्य संघले थालेको चरणबद्ध आन्दोलन अन्तर्गत बिहीबार जिल्लाभर ‘नो डिपोजिट’ अभियान चलाएको संघका अध्यष पुष्पराज कुँवरले बताएका छन् । कुँवरका अनुसार बिहीबार व्यवसायीहरुले बैंकहरुमा ‘नो डिपोजिट’ लेखिएको कालो ब्यानर टाँसेर विरोध जनाएका हुन् । ‘हामी अहिले चर्को ब्याजको विरोधकै क्रममा छौँ । सोही विरोध कार्यक्रम अन्तर्गत आज ‘नो डिपोजिट’ अभियान चलाएका हौँ ।’ उनले भने, ‘यो अभियानमा हामीले बैंकमा आर्थिक कारोबार पूर्ण रुपमा बन्द गरेका छौँ ।’

बैंकको चर्को ब्याजदर र राष्ट्र बैंकको अव्यवहारिक नीतिका कारण व्यवसायी विस्थापित हुने अवस्थामा पुग्दा पनि राज्य गम्भीर नबनेको बताउँदै आन्दोलन गर्न बाध्य भएको अध्यक्ष कुँवरको भनाई छ । ‘हामीले हाम्रा माग स्पष्ट रुपमा राखिसकेका छौँ । तर, सम्बोधन हुने स्थिति देखिएको छैन, यद्यपी केन्द्रीय स्तरबाट पहल होला भन्ने अपेक्षा गरेका छौँ ।’ अध्यक्ष कुँवरले भने, ‘हाम्रा माग कुनै पनि हालतमा राज्यले सम्बोधन गर्नुपर्छ । त्यसो भएन भने आन्दोलन थप सशक्त हुन्छ । देश नै ठप्प हुनसक्ने अवस्था पनि आउन सक्छ ।’

पछिल्लो समय बैंकको चर्को ब्याजदरको विरोधमा उद्योगी÷व्यवसायीहरु देशव्यापी रुपमा आन्दोलित छन् । यसैबीच सुरक्षा चुनौती बढेको भन्दै नेपाल बैंकर्स संघले भने सरकारसँग सुरक्षाको माग गरेको छ । बिहीबार गृहसचिव विनोदप्रकाश सिंह तथा नेपाल प्रहरीका प्रमुख धिरजप्रताप सिंहलाई भेट्दै संघले सुरक्षाको माग गरेको हो ।

https://u16p.com/ren6svei33