सरोकारवालासँग समन्वय नगरी सडक, खानेपानी, ढल र विद्युत पूर्वाधार बनाउँदा आफ्नो सेवा अवरुद्ध हुन थालेको नेपाल टेलिकमले जनाएको छ ।

एक सूचना जारी गर्दै कम्पनीले सडक, खानेपानी, ढल, विद्युत, लगायत अन्य विभिन्न जनसरोकारका पूर्वाधार निर्माण, विस्तार, मर्मत, स्थानान्तरण एवं नगरपालिका र वडाले गर्ने केबल व्यवस्थापन कार्यका क्रममा सम्बन्धित निकायबीच समन्वय नहुँदा टेलिकमकाे संरचनामा क्षति पुग्ने गरेको उल्लेख गरेको छ ।

यसले गर्दा हजारौं ग्राहक अत्यावश्यक भइसकेका दूरसञ्चार सेवा प्राप्त गर्नबाट वञ्चित हुनुपर्ने अवस्था आउने गरेको कम्पनीको भनाइ छ ।

यही क्रममा काठमाडौं उपत्यकाका ठमेल, ताहाचल, ज्याठा, कमलादी, कपन, गोंगबु, हात्तिगौंडा, खुशिबु, तीनकुने (सुविधानगर), लुभु, कीर्तिपुर लगायत विभिन्न स्थानमा पछिल्ला केही दिनमा कम्पनीको भूमिगत तथा पोलमा रहेका संरचनामा क्षति पुग्न गई हजारौं ग्राहक सेवा प्रयोग गर्नबाट वञ्चित रहनुपरेको कम्पनीले उल्लेख गरेकाे छ ।

दूरसञ्चार अत्यावश्यक र संवेदनशील सेवा समेत भएकोले सबै सम्बन्धित पक्ष तथा आम सर्वसाधारणमा निरन्तर सेवा प्रवाहमा साथ दिन कम्पनीले अनुरोध गरेको छ ।

''संरचनामा क्षति पुगी सेवा सञ्चालनमा समस्या आउँदा सेवा निरन्तरताका लागि तत्काल मर्मत कार्य अघि बढाउने गरिएको छ । यस क्रममा क्षतिको प्रकृति अनुसार पुनः सेवा सुचारु गर्न केही समय लाग्न सक्ने सम्भावना पनि रहन्छ,'' कम्पनीले भनेको छ, ''विविध कारणबाट ग्राहकले निरन्तर सेवा प्रयोग गर्नबाट वञ्चित हुनुपर्ने अवस्थाप्रति कम्पनी क्षमाप्रार्थी हुनुका साथै कम्पनीका सेवा प्रयोगमा निरन्तरताको अपेक्षा व्यक्त गर्दछ ।''

https://u16p.com/mhyrzj4l52