देशमा मन्दीको प्रभाव विस्तारै पर्दैछ । बैंकको चर्को ब्याज, घटेको व्यापार र बजारमा बढेको महंगीले व्यवसायीहरु मर्कामा छन् । व्यापार घटेपछि व्यवसायीहरुले कर्मचारी कटौती गरेका छन् । कर्मचारी कटौती भएपछि बजारमा जागिरको हाहाकार छ । जागिरको यसै पनि हाहाकार छ, भईरहेको जागिरमा पनि धेरैको समयमा तलव छैन, बल्ल बल्ल आउने तलव बढ्ने छाँटकाँट छैन । र त राहदानी विभाग तिर राहदानी लिनेको भीड छ, राहदानी बनाएकाहरु म्यानपावर धाउने क्रम बढेको छ । अस्तीभन्दा हिजो बढी, हिजोभन्दा आज बढी आर्थिक रुपमा कमजोर भईरहेका छन् नागरिक र देशभर धेरैको व्यवहार बिग्रिएको छ ।
 
बिग्रिएको व्यवहार मिलाउन पैसा घुमाउन कसरतरत छन् नागरिक । एउटाबाट सापटी मागेको पैसा फिर्ता गर्न अर्कोबाट सापटी माग्यो । अनि त्यसलाई सापटी फिर्ता गर्न फेरी अर्कोसँग सापटी माग्यो । बीचमा कसैले सापटी दिएन भने वा समयमा रकम जुटाउन सकिएन भने अनि सुरु भयो व्यवहार बिग्रिने क्रम । पैसाको व्यवहार बिग्रिएपछि सम्बन्धहरु बिग्रिनेनै भए, सम्बन्ध बिग्रिन थालेपछि फेरि : सापटीको चक्र बिग्रने भयो । यता बिग्रेको व्यापार सुध्रिने छाँट छैन, थप व्यापारमा लगानी गर्ने आँट छैन । आफुलाई सापटी दिनेहरुले दिनमा ३ पटक फोन गर्छन्, आफुले पैसा लिनुपर्नेले ३० पटक फोन गर्दा पनि उठाउँदैनन् । अनि त उही बद्री पंगेनी र रचना रिमालले गाएको गीतजस्तै भएको छ दैनिकी- सापटी नदिउँ आफन्त टाढा, सापटी दियो बिग्रियो सारा ।
 
अनि सापटीको यो चक्र बिग्रिएपछि सुरु हुन्छ, गाली गलौज, मुद्धा मामिला, र सम्बन्धमा चोसोपनाको यात्रा । केहि दिन थामथुम गर्न दिएको चेक खातामा रकम नभएपछि बाउन्स हुन्छ । पैसा नभएपछि के गर्नु ? बाउन्स भए होस् भनेर बस्नुको विकल्प छैन नागरिकसँग । बाउन्स भएपछि नाम कालोसूचीमा पर्छ, पक्राउ परिन्छ, जेल जानुपर्छ भन्ने थाहा भएर के गर्नु, पैसा हुँदै नभएपछि कसैको केहि लाग्दोरहेनछ । व्यापार बिग्रिएपछि बिग्रिएको व्ययभार अनि व्ययभार बढेपछि बिग्रिएको व्यवहारले नमिठोसँग गिजोलेको छ हर व्यापारीलाई । सापटीको चक्र बिग्रिएपछि तनाव भएको छ जागिरेलाई । समग्रमा मन्दीको सुरुवाती प्रभावले सिथिल बनाएको छ गरिखानेहरुलाई । र त चेक बाउन्सका घटना बढेका छन्, कालोसूचीमा पर्नेहरुको संख्या त्यसपछि बढ्ने नै भए । अनि आर्थिक व्यवहार बिग्रिंदा छँदाखाँदाको चलिरहेको एउटाका ज्यान अपराधी ठहर भईरहेका छन् ।
 
सुन्दा अचम्म तर सत्य, पछिल्लो समय झन्डै साँढे ४ हजार नेपाली बैंकिङ कसुरमा जेलमा छन् । तीमध्ये अधिकांस चेक बाउन्स मुद्धामा जेलमा छन् । नेपाल प्रहरीका अनुसार पछिल्लो केहि समयता बैंकिङ कसुरका घटना नाटकीय रुपमा बढेका छन् । चेक बाउन्स भएर कालोसूचीमा पर्ने घटना त सामान्य हुन थालिसकेका छन् । अहिले त चेक बाउन्स मुद्धामा अदालतले पक्रउ गर्ने आदेश दिएर, भागेका र त्यस्ता भागेकाहरुलाई समातेर थुनेका मात्र चालु आर्थिक बर्षको ७ महिनामा मात्र ७४ केस छन् । त्यसमा चेक बाउन्सको केसमा नभागी जेल बसेकाहरुको संख्या हजारौं छ ।
 
प्रहरीका अनुसार चेक बाउन्सका मुद्धा सबैभन्दा बढी काठमाडौँ उपत्यकामा पर्ने गरेको छ भने त्यसपछि सबैभन्दा बढी यस्ता केस कोशी र मदेश प्रदेशमा छन् । प्रहरीको तथ्यांक अनुसार उपत्यकामा कर्जा अपचलन र चेक बाउन्स अत्यधिक छन् भने मधेश प्रदेशमा मिटरब्याजी र चेक बाउन्सका मुद्दा बढी छन् । हालसम्म ४ हजार ३ सय २८ जनाले भने बैंकिङ कसुरमा परेर जेल जीवन बिताइरहेको प्रहरी तथ्यांक छ ।
 
चेक बाउन्ससमेत राखिएको बैंकिङ कसुरमा कस्तो छ कानुनि व्यवस्था ? 
‘बैङ्किङ कसुर तथा सजाय ऐन, २०६४ मा आफूले काटेको चेकलाई थाम्ने रकम आफ्नो खातामा नभएको जानी जानी चेक काटी भुक्तानी लिन वा दिन हुँदैन भन्ने उल्लेख छ । यसो गरिए सो कार्य कसुरजन्य कार्य हुने कानुनमा उल्लेख गरिएको छ । यस्तो काम गरेको प्रमाणित भएमा बिगो जरिवानासहित कैद सजाय पनि हुन्छ । ‘बैङ्किङ कसुर तथा सजाय ऐन, २०६४’ले कसुरसँग सम्बन्धित बिगो रकम हेरेर कैद सजायको व्यवस्था गरेको छ। जसमा कसुरको मात्राअनुसार कैद र बिगो भराई बिगोबमोजिम जरिबाना हुने व्यवस्था कानुनमा छ । दस लाख रुपियाँसम्म बिगो भए– एक वर्षसम्म कैद, दस लाख रुपियाँभन्दा बढी ५० लाख रुपियाँसम्म बिगो भए एकदेखि दुई वर्षसम्म कैद, ५० लाख रुपियाँभन्दा बढी एक करोड रुपियाँसम्म बिगो भए– दुईदेखि तीन वर्षसम्म कैद र एक करोड रुपैयाँभन्दा बढी बिगो भए– तीनदेखि पाँच वर्षसम्म कैद हुने व्यवस्था कानुनमा छ ।
 
त्यसैले कसैलाई रकम नै नभएको चेक दिंदा ख्याल गर्न जरुरी छ । ख्यालमात्र होइन निकै संवेदनशील हुन जरुरी छ । अरे, एकबारको जुनीमा कहाँ जेल कोचिएर बस्नु । बाध्यता नै भए पनि सकेसम्म व्यवहार मिलाएकै राम्रो हुन्छ । मिलाउन नसक्ने व्यवहारमा नपर्दा नै राम्रो । स्थिति ठिक नहुँदा नहुँदै महत्वाकाक्षी हुनुको कुनै तुक छैन । अझ मलाई कानुन नै थाहा थिएन भनेर चेक बाउन्समा पर्दा कानुनले छुट दिंदैन । त्यसैले यसतर्फ एकदम ख्याल गर्न जरुरी छ ।
 
के-के कसुर बैंकिङ कसुरमा पर्छन ?
बैङ्किङ कसुर तथा सजाय ऐन, २०६४ले अनधिकृत रूपमा खाता खोल्न वा रकम भुक्तानी माग गर्न नहुने, नक्कली कागजात पेस गरी खाता खोल्न वा जानी जानी खाता खोलिदिन र कानुनबमोजिम बाहेक काल्पनिक वा अन्य व्यक्ति वा संस्थाको नाममा खाता खोल्न वा खाता खोलिदिन, आफूले काटेको चेकलाई थाम्ने रकम आफ्नो खातामा नभएको जानी जानी चेक काटी भुक्तानी लिन वा दिने कार्यलाई कसुरजन्य कार्य भनेको छ । यसलाई थप सजिलोसँग बुझ्दा खातामा अपुग रकमको चेक दिने काम कसुरजन्य कार्य हो । अरुको चेक भेट्टाएर रकम माग्नु पनि अपराध हो । नक्कली कागजात पेश गरेर खाता खोल्नुपनि अपराध हो ।
 
सो ऐनले अनधिकृत रूपमा चेक, चेकबुक वा बैङ्क विवरण प्राप्त गर्न वा दिने कार्यलाई पनि कसुरजन्य कार्य भनेको छ । अर्थात एउटाको चेक विना अनुमति अर्कोलाई दिनु वा अरुको चेक उसको अनुमतिविना आफुले लिनु पनि कसुरजन्य कार्य हो ।
 
कसैले कुनै तरिकाले अनधिकृत रूपमा वा झुक्याई अन्य व्यक्तिको चेक, चेकबुक वा खाताको विवरण माग गर्न वा प्राप्त गर्न, एउटा व्यक्ति वा संस्थाको चेक, चेकबुक वा खाताको विवरण सम्बन्धित व्यक्तिले लिखित रूपमा अनुरोध गरेकोमा बाहेक अर्को कुनै व्यक्ति वा संस्थालाई दिन पनि नहुने व्यवस्था कानुनमा छ । अर्थात कहिलेकाहीं तपाईंहरुले बैंकमा आफ्नो साथी छ भनेर फलानोको खाताको ब्यालेन्स हेरिदेन भन्नुहुन्छ नि, वा तपाईं बैंकका कर्मचारी हुनुहुन्छ भने तपाईंले कहिलेकाहीं अरुको खाता विवरण असम्बन्धित मान्छेलाई दिनुहुन्छ नि, त्यो पनि गैरकानुनी काम हो । यस्तो काम गर्न पाइदै पाइन्न ।
 
अनधिकृत रूपमा रकम निकाल्न वा भुक्तानी दिन कार्य, अनधिकृत रूपमा अन्य व्यक्तिको खाताबाट रकम निकाल्ने कार्य, चेक चोरी गरी रकम निकाल्ने कार्य, ग्राहकको खाताबाट रकम रकमान्तर गर्न वा नगद भुक्तानी दिने कार्य, चेक, ड्राफ्टलगायतबाट नगद लिने वा भुक्तानी दिने कार्य पनि गैरकानुनी कार्य हो ।
 
यस्तै क्रेडिट कार्ड, डेबिट कार्ड, एटीएम कार्ड वा अन्य विद्युतीय माध्यमको दुरुपयोग वा अनधिकृत प्रयोग गरी भुक्तानी लिन वा दिन पनि हुँदैन भन्ने व्यवस्था कानुनमा छ । आफ्नै साथीभाईको एटिएमको पिन पत्ता लगाएर पैसा निकालियो भने पनि सो काम गैरकानुनी हो, ख्याल गर्नुहोला ।
 
बैंकहरुबाट लिने कर्जामा कस्तो छ कानुनि व्यवस्था ?
अनधिकृत रूपमा कर्जा लिन वा दिन कार्य, गलत, झुटा वा नभएको विवरण पेस गरी वा धितोको अस्वाभाविक मूल्याङ्कन गरी कर्जा लिने वा दिने कार्य र कर्जा उपलब्ध गराएबापत कुनै किसिमको अनुचित लाभ लिने वा दिने कार्य पनि गैरकानुनी हो । अर्थात थोरै भ्यालुएसनलाई घुस खुवाएर बढी भ्यालुएसन गरी ऋण लिन खोज्दैहुनुहुन्छ भने त्यो अपराध हो ख्याल गर्नुहोला । ऋण मिलाईदिएँ भनेर घुस लिनुदिनु त यसै पनि अपराध हो, ख्याल गर्नुहोला । झुटा विवरण पेश गरेर ऋण लिनु र दिनु दुवै कसुरजन्य कार्य हो, ख्याल गर्नुहोला ।
 
अझ धेरैले नबुझेको कुरा त के छ भने बैङ्क वा वित्तीय संस्थाबाट जुन प्रयोजनका लागि कर्जा सुविधा लिएको हो, सोबाहेक अन्य क्षेत्रमा उक्त रकम प्रयोग गरी दुरुपयोग गर्ने वा गराउने कार्य पनि कसुरजन्य कार्य हो । तपाईंले व्यवसाय गर्न भनेर ऋण लिनुभयो र सो ऋणलाई घर बनाउन प्रयोग गर्नुभयो भने पनि सो काम गैरकानुनी हो । ख्याल गर्नुहोला ।
 
यस्तै बैङ्क वा वित्तीय संस्थाको संस्थापक, सञ्चालक, सेयरधनी प्रमुख कार्यकारी अधिकृत, कर्मचारी, सल्लाहकारलगायत र निजका परिवारका सदस्य वा नजिकका नातेदारले बैङ्क वा वित्तीय संस्थाबाट कर्जा सुविधा लिई बैङ्किङ स्रोत, साधन र सम्पत्तिको दुरुपयोग गर्न हुँदैन भन्ने कानुनी व्यवस्था छ । भाखा नाघेको ऋणीले कुनै बैङ्क वा वित्तीय संस्थालाई तिर्नुपर्ने कर्जा नतिरी अन्य बैङ्क वा वित्तीय संस्थामा खाता खोली रकम राख्न पनि नहुने व्यवस्था छ कानुनमा । बैङ्क तथा वित्तीय संस्थालाई हानीनोक्सानी पुर्याउने उद्देश्यले अनियमित आर्थिक तथा वित्तीय कारोबार गर्न गराउन हुँदैन भन्ने व्यवस्था पनि कानुनमा छ । यो चाहिं बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले बढी बुझ्नुपर्ने कानुन हो ।
 
समग्रमा, सकेसम्म सापटीप्रति इमान्दार रहनुहोस्, तिर्न नसक्ने सापटी वा ऋण नलिनुहोस् । ऋण मिनाहाका कुरा कल्पनासमेत कसैले नगर्दा हुन्छ । साथीभाईले सापटी मिनाहा गर्नका लागि वा नतिरे पनि हुन्छ भन्नका लागि दिएका हुँदैनन्, ख्याल गर्नुहोस् । सबैभन्दा बढी सम्बन्ध बिगार्ने भनेको नै पैसाको व्यवहारले हो । त्यसैले यसतर्फ सचेत रहनुहोस् ।