प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुन सरकारमा सहभागी हुन प्रस्ताव गरेका छन् । आज बालुवाटारमा रास्वपा सभापति रवि लामिछानेसँगको भेटमा प्रधानमन्त्रीले सो प्रस्ताव गरेका हुन् ।

स्रोतका अनुसार प्रचण्डले रास्वपाले अघि सार्ने सर्तहरू आफूलाई मञ्जुर हुने संकेत गरेका थिए । तर, लामिछानेले भने प्रचण्डको प्रस्तावलाई घुमाउरो रूपमा अस्वीकार गरेको स्रोतको भनाइ छ । उनले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिन सक्ने स्पष्ट संकेत गरे ।’

‘हामी अहिले सरकारमा जाने मनस्थितिमा छैनौँ । सरकारलाई दिएको समर्थन पनि फिर्ता लिन सक्छौँ,’ उनले भने ।

 

भेटमा रविले आफ्नो पार्टीले नीति तथा कार्यक्रममा समावेश गराएको ‘भ्रष्टाचारको फाइल खोल्ने’ एजेन्डालाई अहिले हटाइएकोप्रति तीव्र असन्तुष्टि जनाएका थिए ।

‘भ्रष्टाचारीलाई कारबाही गर्ने विषयमा नरम नीति लिने सरकारमा हामी कसरी सहभागी हुन सक्छौँ,’ उनले प्रश्न गरेका थिए ।

प्रधानमन्त्रीले भने जसरी पनि रास्वपा सरकारमा आउनुपर्ने भन्दै नीति तथा कार्यक्रम पनि सच्याउन आफू तयार गरेको घुमाउरो संकेत गरेका थिए । तर, रविले भने पार्टी प्रतिपक्षमै बस्न सक्ने प्रधानमन्त्रीलाई बताएका छन् ।

रास्वपाको भोलि केन्द्रीय समिति र संसदीय दलको छुट्टाछुट्टै बैठक बस्दै छ । भोलिको बैठकले सरकारबाट समर्थन झिक्ने विषयमा निर्णय भने लिने छैन । तर, सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने मनस्थिति नेतृत्वले बनाइसकेको बुझिएको छ ।

u16p.com/hvccjotf17