प्रधानमन्त्री पुष्प कमल दाहाल 'प्रचण्ड' ले सरकारी डेटा सेन्टरमा देखिने समस्याको स्थायी समाधानका लागि आवश्यक कदम चालेको बताएका छन् ।

आजबाट सुरु भएको ह्वा–वे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३ को उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले यस विषयमा जानकारी दिएका हुन् । पछिल्ला दुई दिनमा डेटा सेन्टरमा आएको समस्याका कारण सरकारी वेबसाइटमा अवरोध आएको घटनाबीच प्रधानमन्त्री दाहाल यस्तो बताएका हुन् ।

"सरकारी डेटा सेन्टर तथा सर्भरहरुमा देखा पर्ने साइबर सुरक्षा तथा अन्य जोखिम अन्त्यका लागि स्थायी समाधानका लागि सरकारले आवश्यक कदम चालिसकेको छ," उनले बताए ।  

सरकारी सेवा प्रवाह तथा कार्यसम्पादन प्रणालीमा प्रयोग भएका सबै डिजिटल संयन्त्रहरुको प्रभावकारीताको प्राविधिक समिक्षा (Technical Audit) सहित ब्लूप्रिन्ट र सबै डिजिटल सेवालाई एउटै प्लेटफर्ममा ल्याउन वान स्टेप सोलुसन्स र डेटा एक्सचेन्ज प्लेटफर्म (One Stop Solution र Data Exchange Platform) निर्माण गर्नेतर्फ समेत सरकार अघि बढेको उनले बताए । 

"सरकार र जनताबीचको सम्बन्धलाई अझै विकास गर्न तथा सरकारी काम कारबाहीलाई पारदर्शी तथा सबैको पहुँचमा पुर्याउँदै डिजिटल गभर्नेन्सको प्रत्याभूतिसहित भ्रस्टाचारमुक्त समाजको विकासमा हाम्रा प्रयासहरु केन्द्रित छन्," उनले भने, "पारदर्शिता, जवाफदेहितासँगै सुशासनका लागि पनि डिजिटल प्रविधि र यसको प्रयोग महत्वपूर्ण छ ।" 

साथै सामाजिक सचेतना, शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता कतिपय क्षेत्रमा समेत जनअपेक्षा अनुरूप सरकारको भूमिका प्रभावकारी बनाउन सूचना तथा सञ्चार क्षेत्रमा विकसित प्रविधिलाई व्यवस्थित रुपमा उपयोग गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । 

https://unelma.io/HWF8l