काठमाडौं । स्मार्टफोन ब्राण्डमा पछिल्लो समय साओमीले छलाङ मारिरहेको छ । यो कम्पनीले स्मार्टफोनका अतिरिक्त प्रविधिसँग सम्बन्धित अन्य उत्पादनसमेत बजारमा ल्याउने गरेको छ ।

 

यसको एउटा उदाहरण हो, वायरलेस चार्जिङ प्रविधि । साओमीले केही वर्षदेखि वायरलेस चाजिङ प्रविधिमा निरन्तर काम गरिरहेको छ । हालै उसले १२० वाट क्षमता भएको वायरलेस चार्जरको सफल परीक्षण गरिसकेको छ भने सोमबारमात्रै १०० वाट क्षमताको वायरलेस चार्जिङ स्ट्यान्ड सार्वजनिक गरेको छ ।

साओमीले यो प्रडक्ट क्यूआई (Qi) चार्जिङ प्रविधिसहित बजारमा ल्याएको हो, यसको मतलब वायरलेस चार्जिङ सपोर्ट गर्ने अन्य स्मार्टफोनमा समेत यसको प्रयोग गर्न सकिने छ । यो चार्जिङ स्ट्यान्डको डिजाइन यसअघि कम्पनीले ल्याएको ८० वाट क्षमताको वायरलेस चार्जिङ स्ट्यान्डजस्तै छ ।

 

हाल साओमीका मि ११ प्रो र मि ११ अल्ट्राले ६७ वाटको फास्ट चार्जिङ सपोर्ट गर्छ । त्यस्तै हालै सार्वजनिक भएको मि मिक्स फोरले ५० वाटको वायरलेस चार्जिङ सपोर्ट गर्छ ।

 

कम्पनीले साेमबार सार्वजनिक गरेको १०० वाट क्षमताको वायरलेस चार्जिंङ स्ट्यान्ड हाल चीनमा मात्र उपलब्ध छ। यसको मूल्य ५९९ यूआन (करिब ११ हजार रुपैयाँ) रहेको छ ।

 

यो उत्पादनमा ओभर भोल्टेज, ओभर करेन्ट, ओभर टेम्प्रेचर प्रोटेक्सनलगायतका फिचर दिइएको छ ।

हाल साओमीका मि ११ प्रो, मि ११ अल्ट्रा र मि मिक्स ४ ले चार्जिङ स्ट्यान्डबाट लाभ उठाउन सक्नेछन् । तर यी कुनै पनि मोडलमा १०० वाट गतिमा चार्ज भने हुँदैन ।

यसकारण कम्पनीले १०० वाट गतिको फास्ट चार्ज गर्ने स्मार्टफोन चाँडै बजारमा ल्याउने अनुमान गर्न सकिन्छ ।

https://www.techpana.com/2021/99276