काठमाडौं । सरकारले सञ्चालनमा ल्याउने भनेको सूचना प्रविधि ज्ञानपार्क (आईटी पार्क) निर्माणको काम अलपत्र परेको छ । आर्थिक वर्ष २०७६/७७ को बजेट भाषण गर्ने क्रममा तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले ललितपुरको खुमलटारमा आईटी पार्क बनाउने घोषणा गरेका थिए ।

 

तर साढे दुई वर्ष बित्दा पनि आईटी पार्कको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत तयार हुन सकेको छैन । हालसम्म पार्क निर्माणस्थलमा पर्खालमात्रै बनाइएको छ ।

 

सरकारी निकायबीच समन्वय नहुँदा पार्क निर्माणले गति लिन नसकेको हो । खुमलटारस्थित रेडियो नेपालको नाममा रहेको जग्गा सूचना प्रविधि विभागको नाममा नआउँदा ज्ञानपार्क निर्माण प्रक्रिया सुरु हुन नसकेको विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठ बताउँछन् ।

 

‘अहिले केही प्राविधिक कठिनाइ आएको छ । विभाग मातहत जग्गा आउनासाथ काम अघि बढाउन हामी तयार छाैं,’ उनले भने ।

 

रेडियो नेपालको नाममा रहेकाे करिब एक सय ६० रोपनी जग्गामध्ये लगभग ४५ रोपनी जग्गा सशस्त्र प्रहरीले प्रयोग गर्दै आएको छ भने अन्य जग्गा रेडियोले निजी कम्पनीलाई भाडामा लगाएको छ । सो जग्गामा सशस्त्र प्रहरीले करोडौंको संरचना बनाइसकेको छ ।

 

सूचना प्रविधि विभागको नाममा जग्गा नामसारी र त्यहाँको भौतिक संरचनाको व्यवस्थापन नहुँदा ज्ञानपार्क निर्माणको कामले गति लिन नसक्ने श्रेष्ठकाे भनाइ छ ।

तर जग्गाको विषयमा सरकारी निकायबीच समन्वय नै हुन सकिरहेको छैन । यही कारण विभागले डीपीआरका लागि खुलाएको टेन्डर पनि ८ महिनापछि रद्द भएको थियो ।

बनेपामा अवस्थित आईटी पार्क पूर्णरुपमा सञ्चालनमा ल्याउन नसकेपछि त्यहाँ सेक्युरिटी प्रिन्टिङ प्रेस राख्ने भन्दै सरकारले खुमलटारमा सूचना प्रविधि ज्ञानपार्क बनाउने योजना ल्याएको थियो ।

https://www.techpana.com/2021/112439/