नेपाल विद्युत प्राधिकरणले विद्युत पोलमा टाँगिएका अप्टिकल फाइबर तान्नका लागि सम्झौता नगर्ने र भाडा नतिर्ने इन्टरनेट सेवाप्रदायकको बिजुलीको लाइन जुनसुकै बेला काट्न सक्ने चेतावनी दिएको छ । केही सेवाप्रदायकले आंशिक क्षेत्रको मात्र पोल भाडा सम्झौता गरेको तथा केही सेवाप्रदायकहरूले सम्झौता नै नगरी विद्युतीय संरचना प्रयोग गरिरहेको भन्दै प्राधिकरणले यस्तो सूचना जारी गरेको हो ।
त्यस्ता सेवाप्रदायक संस्थाहरूले २०७९ वैशाख मसान्तभित्र विद्युत प्राधिकरणको सम्बन्धित क्षेत्रको प्रादेशिक कार्यालयमा सम्पर्क गरी नियमानुसार सम्झौता गर्न, नवीकरण गर्न र हालसम्म बाँकी बक्यौता रहेको भाडा रकम भुक्तानी गर्नु हुन् पुनः यो सूचना प्रकाशित गरिएको छ,’ प्राधिकरणले भनेको छ ।
यस अघि प्राधिकरणले सम्झौतामा नआउने र विद्युत पोलको भाडा नतिर्ने इन्टरनेट सेवाप्रदायकको अप्टिकल फाइबर नै काट्ने कार्य गरेको थियो । त्यसबाट देशका विभिन्न ठाउँमा अत्यावश्यक इन्टरनेट सेवा नै अवरुद्ध हुन थालेपछि ऊर्जा मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवाप्रदायकबीच समस्या समाधानका लागि कार्यदल नै गठन गरिएको थियो । बृद्धि गरिएको भाडा समायोजन गरेर विवाद समाधान गर्नुपर्ने सुझाव उक्त कार्यदलले दिएको थियो ।
विद्युती प्राधिकरणले एकतर्फी रुपमा चर्को पोल भाडा बढाएको भन्दै इन्टरनेट सेवाप्रदायकहरू त्यसको विरोधमा छन् । बृद्धि गरिएको पोलभाडा फिर्ता लिनुपर्ने अन्यथा आफूहरूले समेत इन्टरनेटको शुल्क बढाउन पाउनुपर्ने माग इन्टरनेट सेवप्रदायकहरूको छ । यही विवादका कारण नेपाल विद्युत प्राधिकरण र इन्टरनेट सेवाप्रदायकहरूबीच तनावको अवस्था उत्पन्न भएको हो ।