नेपाल रेलवे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन कुमार झाले हाल रेलको टिकटबाट दैनिक औसत दुई लाख १० हजार रूपैयाँ मात्रै आम्दानी भइरहेको बताए।
'टिकटबाट वार्षिक आम्दानी ७ करोड ६६ लाख हुन्छ,' उनले भने, 'तर खर्च धेरै छ।'
https://unelma.io/K9UVu उनका अनुसार रेल सेवा सञ्चालन र मर्मतसम्भारबापत् भारतीय रेलवे कम्पनीलाई वार्षिक ४८ करोड भुक्तानी गर्नुपर्छ। त्यस्तै इन्धनबापत् वार्षिक खर्च दुई करोड १० लाख रूपैयाँ हुने कम्पनीले बताएको छ।
रेल सञ्चालनका लागि २६ भारतीय कर्मचारीहरू छन्। ती कर्मचारीहरूलाई तलब-भत्ता मात्र वार्षिक तीन करोड रूपैयाँ भारत जाने उनले बताए। जनशक्ति व्यवस्थापनका लागि नेपालले भारतको कोनकन रेलवेज कर्पोरेसन (केआरसिएल) सँग सम्झौता गरेको छ। सोहीअनुसार केआरसिएलले नेपाललाई २६ जना कर्मचारी उपलब्ध गराएको छ।
'भारतीयहरूलाई पारिश्रमिक पनि डलरमा बुझाउनुपर्छ,' उनले भने, 'यस्तो घाटा कम गर्न पहिले त नेपाली जनशक्ति विकास गरी खटाउनुपर्छ।'
'स्थायी कर्मचारी पदपूर्ति गरी रेल चालक, स्टेसन मास्टर, इलेक्ट्रोनिक र टेलिकम जुनियर इञ्जिनियर, मेकानिकल जुनियर इञ्जिनियर, सिभिल जुनियर इञ्जिनियरलाई तत्काल रेलवेसम्बन्धी तालिमका लागि भारत पठाउनुपर्छ,' उनले भने।