ग्राफिक्स डिजाइनिङका लागि इन्टरनेटमा थुप्रै एप तथा सफ्टवेयर उपलब्ध छन् । विगतमा अधिकांशले फोटोशप, इल्युस्टेटर, कोरेल-ड्र जस्ता सफ्टवेयर प्रयोग गर्दै आएका थिए । त्यस्ता सफ्टवेयरका लागि कम्प्युटर वा ल्यापटपकाे क्षमता पनि उच्च हुनुपर्छ । त्यसैले धेरैले यस्ता सफ्टवेयर प्रयोग गर्न सकिरहेका हुँदैनन् ।

तर, ग्राफिक्स डिजाइनिङका लागि यीबाहेक अन्य सफ्टवेयर छैनन् भन्ने चाहिँ होइन । अहिले इन्टरनेटमा थुप्रै एप तथा साइट उपलब्ध छन्, जहाँबाट हामी सजिलै स्तरीय ग्राफिक्स डिजाइनिङ गर्न सक्छौँ । फोनबाटै प्रयोग गर्न सकिने स्तरीय ग्राफिक्स डिजाइनिङ टुलको शीर्ष स्थानमा  आउँछ क्यान्भा र एडोबी एक्स्प्रेस ।

सामाजिक सञ्जालका ब्यानर बनाउन, विज्ञापनका पोस्ट तयार पार्न वा अन्य व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका ग्राफिक्स डिजाइन गर्न यी एप प्रयोग गर्न सकिन्छ । आज हामी एडोबी एक्सप्रेस र क्यान्भामा कसका फिचर कस्ता छन् भन्ने विषयमा चर्चा गर्छौँ:

क्यान्भा र एडोबी एक्स्प्रेस कहाँबाट पाउन सकिन्छ ?

यदि तपाईँले हालसम्म पनि यी टुल प्रयोग गर्नुभएको छैन भने क्यान्भा यहाँ क्लिक गरेर र एडोबी एक्सप्रेस यहाँ क्लिक गरेर प्रयोग गर्न सक्नुहुन्छ ।

डाउनलाेड गर्न

क्यान्भा- विन्डोज, म्याक, एन्ड्रोइड र आईओएस

एडोबी एक्सप्रेस- एन्ड्रोइड र आईओएस

१.   टेम्प्लेट

क्यान्भाले प्रयोगकर्तालाई विभिन्न माध्यमका लागि छुट्टाछुट्टै टेम्प्लेट उपलब्ध गराएको छ । विशेषगरी सामाजिक सञ्जालका पोस्ट, ब्रोसर, प्रेजेन्टेसनका लागि सोही अनुसारका पोस्ट बनाउन सकिन्छ ।

क्यान्भामा रहेका टेम्प्लेटबाट ग्राफिक्स डिजाइनिङको आइडिया पनि हुने भएकाले त्यस्ता टेम्प्लेट प्रयोग गर्न सकिन्छ । उक्त साइटमा दुई लाख ५० हजार बढी निःशुल्क उपलब्ध टेम्प्लेट रहेका छन् ।

अर्कोतर्फ एडोबी एक्सप्रेसले भने प्रयोगकर्तालाई सीमित टेम्पेटमा ग्राफिक्स डिजाइन गर्न सघाएको हुन्छ । एडोबी एक्सप्रेसमा पनि क्यान्भा जस्तै विभिन्न क्याटेगोरी रहेका छन् । टेम्प्लेट धेरै र आकर्षक हुने भएकाले टेम्प्लेटका आधारमा एडोबी एक्सप्रेसलाई उपयुक्त मान्न सकिन्छ ।

२.  इफेक्ट तथा फिल्टर

क्यान्भामा थुप्रै उपयोगी इफेक्ट तथा फिल्टरहरू रहेका छन् । विशेषगरी ब्लर, पेन्ट इफेक्ट, पिक्जलेट जस्ता इफेक्टको मजा क्यान्भामा लिन सकिन्छ । साथै डिजाइनको ब्राइटनेस, कन्ट्रयास्ट तथा स्याचुरेसन एड्जस्ट गर्नुपर्ने छ भने क्यान्भामा विभिन्न अप्सन छन् ।

यता एडोबओ  एक्सप्रेसकले पनि प्रयोगकर्तालई निःशुल्क थुप्रै इफेक्ट तथा फिल्टर उपलब्ध गराएको हुन्छ । तर, क्यान्भाको तुलनामा एडोबी एक्सप्रेसमा इपेक्ट तथा फिल्टरहरू सीमित छन् । एडोबी एक्स्प्रेसमा फोटोको ब्राइटनेस, कन्ट्रास्ट तथा ब्लर म्यानुअल्ली एडजस्ट गर्न सकिन्छ ।

३.  इन्टरफेस र सहजता

कुनै पनि एप वा सफ्टवेयरको तुलना गर्दा युजर इन्टरफेसको कुरा सबैभन्दा पहिले आउँछ । युजर फ्रेन्ड्ली इन्टरफेसको सन्दर्भमा क्यान्भाको इन्टरफेस हेर्दा सरल र सफा देखिन्छ । तपाईँले सहजै टेम्प्लेट एडिट गरे आफू अनुकूल बनाउन सक्नुहुन्छ । डिजाइनिङको क्षेत्रमा नयाँ आउनेहरूका लागि क्यान्भाको युजर इन्टरफेसले आकर्षण गर्छ ।

एडोबी एक्सप्रेसमा धेरै फोटोशप र इल्युस्ट्रेटरको झलक देख्न सकिन्छ, जसले गर्दा प्रोफेसनल तरिकाले ग्राफिक्स डिजाइनिङ गरेको अनुभव हुन्छ । नयाँलाई युजर इन्टरफेसले केही असहज बनाए पनि सिक्दै जाँदा राम्रो लाग्दै जान्छ । युजर इन्टरफेस जटिल भएपनि एडोबी एक्सप्रेसमा उपयोगी थुप्रै टुलहरू रहेका छन् ।

यदि तपाईँ ग्राफिक्स डिजाइनिङमा नयाँ हुनुहुन्छ भने तपाईँका लागि क्यान्भा नै उपयुक्त हुन्छ । तर, एडोबी एक्सप्रेस पनि ग्राफिक्स डिजाइनिङ सिक्न चाहनेका लागि राम्रै टुल हो । सहजताकाे हिसाबले हेर्ने हो भने क्यान्भालाई राम्रो मान्न सकिन्छ ।

४.  भिडिओ एडिटिङ

फोटो मात्र नभइ क्यान्भा भिडिओ एडिटिङका लागि पनि उपयुक्त टुल हो । फोटो जस्तै भिडिओ पनि टेम्प्लेटबाट एडिट गर्न सकिन्छ । भिडिओ एडिट सकिएपछि त्यसलाई विभिन्न फर्म्याटमा सेभ गरेर डाउनलोड गर्न सकिन्छ ।

एडोबी एक्स्प्रेसमा पनि भिडिओ सेक्सन रहेको छ । विशेषगरी ट्रिम गर्न, रिसाइज गर्न मर्ज वा क्रोप गर्न ती टुलको प्रयोग गर्न सकिन्छ । एडोबी एक्सप्रेमसा भने सीमित टेम्प्लेट मात्र रहेका छन् । तर, क्यान्भामा भने थुप्रै टेम्प्लेट रहेका छन् । भिडिओ टेम्प्लेटको सन्दर्भमा भने क्यान्भालाई नै उत्कृष्ट मान्न सकिन्छ ।

 ५. स्टक फोटो

ग्राफिक्स डिजाइनिङका लागि फोटो निकै आवश्यक पर्छ । त्यसैले स्टक फोटो धेरै भएको साइटलाई उपयुक्त मनाइन्छ । क्यान्भा र एडोबी एक्सप्रेस दुबैले हजारौँ स्टक फोटो उपलब्ध गराउँछन् । त्यसैले ग्राफिक्स डिजाइनिङ गर्दा उक्त साइटबाट अन्य वेबमा फोटो खोजिरहनु पर्ने झन्झट हुँदैन ।

क्यान्भाले प्रयोगकर्तालाई १० लाख बढी स्टक फोटो उपलब्ध गराउँछ भने एडोबीले पनि एडोबी स्टक इमेजबाट हजारौँ फोटो प्रयोग गर्ने अनुमति दिन्छ ।

 ६.  फन्ट

ग्राफिक्स डिजाइनिङमा फन्ट धेरै महत्त्वपूर्ण हुन्छ । कुनै पनि पोस्टरको पहिलो आकर्षण नै फन्ट हुने भएकाले हामीलाई धेरै र आकर्षक फन्ट उपलब्ध गराउने साइट उपयुक्त लाग्छ । क्यान्भा मार्फत सयौं फन्टहरू रहेका छन् । क्यान्भामा भने धेरै नेपाली फन्टको अपेक्षा गर्न सकिँदैन ।

एडोबी एक्सप्रेमा पनि सयौं फन्टहरू प्रयोग गर्न सकिन्छ । विभिन्न क्याटेगोरीका छुट्टै फन्ट हुने भएकाले तपाईँ आफ्नो आवश्यकता अनुसार आकर्षक फन्ट प्रयोग गर्न सक्नुहुन्छ । एडोबीमा भने विभिन्न भाषाका पनि फन्टहरू उपलब्ध छन् । त्यसैले एडोबी एक्सप्रेसलाई आकर्षक मान्न सकिन् छ ।

७. मोकअप

क्यान्भाका मोकअप टेम्प्लेट प्रयोग गर्न सहज हुनुका साथै कस्टुमाइज पनि गर्न सकिन्छ । विशेषगरी ल्यापटप, फोन वा बुक कभर डिजाइन गर्दा यस्ता मोकअप आवश्यक पर्छन् । तपाईँले क्यान्भामार्फत आफ?नै मोकअप टेम्पलेट पनि बनाउन सक्नुहुन्छ ।

मोकअप टेम्प्लेटका सन्दर्भमा भने एडोबी एक्सप्रेसमा केही सीमितता छन् । एडोबी एक्सप्रेसका मोकअप टेम्प्लेटबाट लेआउट, थिम, एनिमेसन तथा कलर मात्र परिवर्तन गर्न सकिन्छ । यदि तपाईँ ग्राफिक्स डिजाइनिङ सिक्न खोजिरहनु भएको छ भने क्यान्भा नै उपयुक्त हुन्छ ।

त्यसो भए कुन एप प्रयोग गर्ने त ?

तपाईँ ग्राफिक्स डिजाइनिङको क्षेत्रमा नयाँ हुनुहुन्छ भने तपाईँका लागि क्यान्भा नै उपयुक्त हुन्छ ।

एडोबी एक्सप्रेस फोटो डिजाइनिङमा पोख्त भइसकेकाहरूका लागि उपयुक्त एप हो । तपाईँलाई ग्राफिक्स डिजाइनिङ गर्दा केकस्ता फिचरहरू आवश्यक पर्छन्, त्यसैका आधारमा यीमध्ये एउटा एप प्रयोग गर्न सकिन्छ ।

यदि तपाईँले निःशुल्क धेरै फिचरहरू खोजिरहनु भएको छ भने तपाईँले क्यान्भा प्रयोग गर्न सक्नुहुन्छ ।

https://u16p.com/ardhizcdv6