मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडको आम्दानी लगातार छैटौँ वर्षमा समेत घटेको छ । एनसेलको प्यारेन्ट कम्पनी आजियाटा ग्रुपले सार्वजनिक गरेको वित्तीय प्रतिवेदन अनुसार गएको वर्ष मात्रै कम्पनीले एक अर्ब ६३ करोड ९० लाख रुपैयाँ आम्दानी गुमाएको हो ।

प्रतिवेदन अनुसार गत वर्ष ४१ अर्ब ४५ करोड रुपैयाँ रहेको एनसेलको कूल आम्दा सन् २०२२ मा घटेर ३९ अर्ब ८१ करोड रुपैयाँमा खुम्चिएको छ । एनसेलले आम्दानी गुमाएको यो लगातार छैटौँ वर्ष हो ।सन् २०१६ मा ५८ अर्ब ६५ करोड २० लाख रुपैयाँ रहेको एनसेलको कूल आम्दानी त्यसपछिका वर्षमा घट्दै क्रमशः ५८ अर्ब पाँच करोड ४० लाख, ५७ अर्ब ४६ करोड ५० लाख, ५४ अर्ब १६ करोड १० लाख र ४१ अर्ब ९२ करोड ८० लाख रुपैयाँमा सीमित भएको थियो ।

आम्दानीसँगै एनसेलको नाफा रकम समेत घटेको छ । सन् २०२१ मा छ अर्ब ६६ करोड ७० लाख रुपैयाँ रहेको कम्पनीको खुद नाफा  सन् २०२२ मा पाँच अर्ब १६ करोड ४० लाख रुपैयाँ मात्रै  छ ।

जुन एक अर्ब ५० करोड ४० लाख रुपैयाँले थोरै हो । कुनै समय वार्षिक ३५ प्रतिशतसम्म खुद नाफा आर्जन गर्ने एनसेलले गएको वर्षमा १३ प्रतिशतमा चित्त बुझाउनु परेको छ ।

भाइबर, मेसेञ्जर, ह्वाट्सएप जस्ता ओटीटी माध्यमको प्रयोग बढ्दा अन्तर्राष्ट्रिय कल (आईएलडी) बापतको आम्दानी गुमाएका टेलिकम कम्पनीहरूको डेटा तर्फको आम्दानी अपेक्षित रुपमा बढ्न नसक्दा लगातार दबाबमा पर्दै गएका छन् ।
https://unelma.io/WvFZq